सङ्खुवासभा दुर्घटनामा मृत्यु भएका १० जनाको सनाखत
सङ्खुवासभाको मादी नगरपालिका-६ मा भएको बस दुर्घटनामा परी मृत्यु भएकामध्ये १० जनाको पहिचान खुलेको छ।
दुर्घटनामा १४ जनाको मृत्यु भएको हो। उनीहरूमध्ये चार जनाको सनाखत हुन सकेको छैन। दुर्घटनामा मृत्यु भएका सवारी चालक तेह्रथुमको औँशीडाँडाका ३० वर्षीय विपिन निरौला, मादी-४ का सहचालक ३५ वर्षीय उमेश भट्टराई, मादी-५ का ४५ वर्षीय दीपक दाहाल, ५२ वर्षीय श्याम शेर्पा र ५५ वर्षीय भवानी दाहालको पहिचान खुलेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
त्यस्तै, मादी-६ का ३८ वर्षीय इन्द्रबहादुर अधिकारी, ३८ वर्षीय आइतबहादुर तामाङ, ३५ वर्षीया सविता राउत कार्की, मादी- ६ की अञ्जना कटुवाल र मादी-५ की दीक्षा कटुवालको मृत्यु भएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदीले बताए।
बिहीबार बिहान साढे ७ बजे मादीको ओखरबोटे बजारबाट झापाको दमकतर्फ जाँदै गरेको बस दुर्घटनामा भएको थियो। बस मादी-६ को सातघुम्ती नजिकै दुर्घटनामा परेको हो।
बस सडकबाट करिब ३०० मिटर तल खसेको प्रहरीले जनाएको छ। बस तीव्रगतिका कारण दुर्घटना भएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको प्रहरी नायब उपरीक्षक सुवेदीले बताए।
दुर्घटनामा पाँच जना घाइते भएका छन्। उनीहरू नेपाली सेनाको हेलिकप्टरमाफर्त उपचारका लािग काठमाडौं लगिएको छ।
दुर्घटनामा मादी-५ का सुवाष गोले, युवा पोख्रेल र मादी-६ का तुलसा कटुवाल, अम्बिका विक, डम्बरबहादुर कार्की रहेका छन्।