भारतीय विधान सभा चुनाव: पञ्जाबमा आम आदमी र चार राज्यमा भाजपालाई अग्रता
भारतका पाँच राज्यमा भएको विधान सभा निर्वाचनमध्ये पञ्जाबमा आम आदमी पार्टी (आप) तथा उत्तरप्रदेश, गोवा, उत्तराखण्ड र मणिपुरमा भारतीय जनता पार्टी (भाजपा) गठबन्धनले प्रारम्भिक अग्रता लिएको छ।
कुल ४०३ सिट रहेको उत्तरप्रदेशमा ३५० स्थानको मतगणना शुरू हुँदा भाजपाले २२७ स्थानमा अग्रता लिएको छ। दोस्रो स्थानको समाजवादी पार्टीले ९८, बहुजन समाजवादी पार्टीले ६ र भारतीय राष्ट्रिय कांग्रेसले ४ स्थानमा अग्रता लिएको छ।
पञ्जाबको ११७ स्थानमध्ये ८९ स्थानमा आपले अग्रता लिएको छ। दोस्रो स्थानको कांग्रेसको १३ र अकाली दलको ९ स्थानमा अग्रता छ। यसअघि पञ्जाबमा कांग्रेसको सरकार थियो।
बहुमतका लागि २१ स्थान चाहिने गोवामा भाजपाको १८ र कांग्रेसको १३ स्थानमा अग्रता लिएको छ। यसअघि गोवामा भाजपाको सरकार थियो।
त्यस्तै, कुल ७० सिट रहेको उत्तराखण्डमा ४४ सिटमा भाजपा १९ सिटमा कांग्रेसका उम्मेदवार अग्रस्थानमा छन्। उत्तराखण्डमा भाजपाकै सरकार छ।
मणिपुरको ६० सिटमध्ये १५ स्थानमा भाजपाको अग्रता छ। मणिपुरमा यसअघि भाजपा नै सरकारमा थियो।
भारतका पाँचै राज्यमा विभिन्न चरणमा गरी तीन दिनअघि निर्वाचन सकिएको थियो। सबै राज्यमा विद्युतीय भोटिङ मेसिनको प्रयोग गरिएको छ।