सङ्खुवासभा बस दुर्घटनामा १३ यात्रुको मृत्यु
सङ्खुवासभाको मादी नगरपालिका-६ को पुलुड्डस्थित सात घुम्तीमा बस दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको छ।
मादीबाट झापाको दमक जाँदै गरेको यात्रुबाहक बस आज बिहान दुर्घटना भएको हो। दुर्घटनामा १३ जनाको मृत्यु भएको छ।
दुर्घटनास्थलबाट उनीहरूको शव निकालिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदीले बताए। डीएसपी सुवेदीका अनुसार मृतकको पहिचान खुलेको छैन।
दुर्घटनामा पाँच जना घाइते भएका छन्। उनीहरूलाई उपचारका लागि अस्पताल पठाइएको डीएसपी सुवेदीले बताए।
स्थानीय बासिन्दाका अनुसार बसमा २१ जना यात्रु थिए। बस सडकबाट करिब ३०० मिटर तल खसेको जनाइएको छ।
दुर्घटनाको विस्तृत विवरण आउन बाँकी रहेको डीएसपी सुवेदीले बताए।