हामी नभए कांग्रेस र कांग्रेस नभए हाम्रो अस्तित्व रहँदैन: तुलाधर
नेकपा (एकीकृत समाजवादी) का उपमहासचिव गंगालाल तुलाधरले चुनावी तालमेल गठबन्धनका सबै दललाई आवश्यक रहेको बताएका छन्।
एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठकपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिंदै तुलाधरले गठबन्धनका पार्टीहरूको अस्तित्व चुनावी तालमेलमा निर्भर रहेको बताए।
“हाम्रो लागि त गठबन्धन पक्का आवश्यक छ, हामी नभए नेपाली कांग्रेस, नेपाली कांग्रेस नभए हाम्रो अस्तित्व पनि नहुने खालको कुरा छ,” उपमहासचिव तुलाधरले भने।
सत्ता गठबन्धनमा रहेका सबैको समान गरिमा र हैसियत भएको उनको भनाइ छ। तुलाधरले भने, “गठबन्धनमा आवद्ध दलहरू कोही पनि साना वा ठूला छैनन्।”
स्थानीय मात्रै होइन, संघीय र प्रदेश चुनावसम्म पनि गठबन्धन कायमै गरेर जानु पर्नेमा उनले जोड दिए।