स्थानीय चुनाव हाम्रो पार्टी जीवनको महत्त्वपूर्ण परिघटना हो: माधव नेपाल
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले ३० वैशाखमा हुने स्थानीय चुनाव आफ्नो पार्टी जीवनका लागि महत्त्वपूर्ण परिघटना भएको बताएका छन्।
एकीकृत समाजवादीको केन्द्रीय कमिटीको तेस्रो बैठकमा प्रस्तुत राजनीतिक प्रतिवेदनमा अध्यक्षले नेपालले भनेका छन्, “यो निर्वाचन हाम्रो पार्टी जीवनका लागि एउटा महत्त्वपूर्ण परिघटना हो।”
सम्पूर्ण शक्तिका साथ आगामी निर्वाचनको तयारीमा जुट्न पनि उनले नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन्।
नेकपा (एमाले) बाट विभाजित भएर गठन भएको एकीकृत समाजवादीले पहिलो पटक चुनावको सामना गर्न लागेको हो। तीन वटै तहको चुनावमा गठबन्धन बनाएर लड्नुपर्नेमा अध्यक्ष नेपालको जोड छ।
उनले बैठकमा मिलेनियम च्यालेन्ज कपोरेशन (एमसीसी) बारे भ्रम, वास्तविकता र पार्टी धारणा शीर्षकको छुट्टै प्रतिवेदन समेत पेश गरेका छन्। जसमा नेकपा (माओवादी केन्द्र) ले आफूहरूले भन्दा पहिला नै एमसीसी पारित गर्ने निर्णय गरिसकेकाले सत्ता गठबन्धन जोगाउन एमसीसीको पक्षमा मतदान गर्ने निर्णय गरिएको प्रतिवेदनमा उल्लेख छ।