केपी ओलीसँग लडेका दुवै निर्वाचन जितेका छौं: माधव नेपाल
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेकपा (एमाले) विरुद्ध अहिलेसम्म लडेका दुवै निर्वाचत जितेको र अब पनि जित्ने बताएका छन्।
बुधबार एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले ठूलो पार्टी बनाउने गरी आगामी निर्वाचनमा केन्द्रित हुनुपर्नेमा जोड दिए। उनले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई अझै पनि ठूलो पार्टी छ भन्ने भ्रम रहेको जिकिर गरे।
अहिलेसम्म आफूहरूले लडेका दुई निर्वाचनमा एमालेलाई पराजित गरेको र अबका निर्वाचनमा पनि पराजित गर्ने नेपालको भनाइ थियो। “हामीले दुई वटा निर्वाचन लडेका छौं, दुवै निर्वाचनमा केपी ओलीलाई हराएका छौंं,” नेपालले भने।
अध्यक्ष नेपालले राष्ट्रिय सभाको उपनिर्वाचन र निर्वाचनलाई उल्लेख गरेका हुन्। “पार्टी निर्माण नहुँदा राष्ट्रिय सभाको एक सीटका लागि चुनाव लडेका थियौं। केपी ओली र हामीबीचको प्रतिस्पर्धामा हामीले जितेका थियौं,” नेपालले भने, “दोस्रो पटक १९ सीटका लागि भएको निर्वाचनमा गठबन्धनको तर्फबाट १८ सिटमा विजयी हासिल गर्यौं।”
आगामी चुनावमा पनि गठबन्धन मिलेर जाने उनले बताए। “निर्वाचनमा मिलेर जाने सहमति भएको छ,” नेपालले भने, “सबै ठाउँमा मिल्न सकिँदैन भने पनि जति ठाउँमा सकिन्छ, मिलेर जानेछौं।”
बुधबार शुरू भएको एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक बिहीबारसम्म चल्नेछ। केन्द्रीय कमिटीले बैठकले आगामी स्थानीय तह निर्वाचनमा केन्द्रीय हुने गरी कार्यक्रम तय गर्ने जनाइएको छ।