विद्यार्थीको मृत्यु घटनाले सुन्दरबजारमा तनाव, बिहानैदेखि कर्फ्यू
विद्यार्थीको नदीमा डुबेर मृत्यु भएको घटनामा तनाव उत्पन्न भएपछि लमजुङको सुन्दरबजारमा कर्फ्यू लगाइएको छ।
जिल्ला प्रशासन कार्यालय, लमजुङले आज बिहान ६ बजदेखि कर्फ्यू जारी गरेको हो। सुन्दरबजार नगरपालिकास्थित सिउँडीबार क्षेत्रमा बिहानैदेखि कर्फ्यू जारी गरिएको प्रमुख जिल्ला अधिकारी सुशील वैद्यले बताए।
मंगलबार सुन्दरबजार-९ स्थित मर्स्याङ्दी नदीमा पौडी खेल्ने क्रममा फ्युचर स्टार आवासीय मावि कक्षा १० मा अध्यनरत तनहुँको भानु नगरपालिका-९ का १७ वर्षीय सनिज श्रेष्ठको मृत्यु भएको थियो। उनी विद्यालयकै छात्रावासमा बस्दै आएका थिए।
एक जना शिक्षक र विद्यार्थीसँगै नुहाउन गएका उनको डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ। विद्यालयको लापरवाहीका कारण उनको मृत्यु भएको भन्दै आफन्तजन विरोधमा उत्रिएका हुन्।
मंगलबारदेखि तनाव बढ्दै गएपछि कर्फ्यू लगाउनु परेको प्रमुख जिल्ला अधिकारी वैद्यले बताए।
सुन्दरबजार-७ को पूर्व-दक्षिणस्थित पाउँदी पुल, पूर्वतर्फ राइनासतर्फको मर्स्याङ्दी नदीको पुल, पश्चिमतर्फ सोही नगरपालिकाको वडा नं ९ को मध्यमर्स्याङ्दी जलविद्युत् आयोजना केन्द्रको आवास क्षेत्र अगाडिको पुल र उत्तरतर्फ सोही वडाको सिउँडीबार चोक समेत चार किल्ला क्षेत्रमा कर्फ्यू लागू गरिएको हो।