कस्तो छ कांग्रेसको ‘घरघर जाऔं’ अभियान?
नेपाली कांग्रेसले एक महीने ‘घर-घर जाऔं, कांग्रेस जिताऔं’ अभियान सञ्चालन गर्न लागेको छ।
स्थानीय चुनावलाई लक्षित गरी २९ फागुनदेखि २९ चैतसम्म अभियान सञ्चालन गर्न लागेको हो। यसका लागि ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधि खटाइएका छन्।
सरकारले आगामी ३० वैशाखमा स्थानीय तहको चुनाव गर्ने घोषणा गरेको छ। त्यसकै तयारीका लागि एक महीने अभियान सञ्चालन गर्न लागिएको कांग्रेसले जनाएको छ।
यस अभियानमा कांग्रेसले ‘हरेक काँधलाई भारी, हरेक हातलाई जिम्मेवारी’ भन्ने नारा दिएर वडा तहसम्म नेता तथा कार्यकर्ता परिचालन गर्ने भएको छ। यो क्रममा अमेरिकी सहायता परियोजना एमसीसी सम्झौताका विषयमा छरिएका भ्रम हटाउन निर्देशन दिइएको छ।
अभियानका लागि सातै प्रदेश समितिलाई कार्ययोजना बनाउन भनिएको छ। यही क्रममा स्थानीय तहमा सम्भावित उम्मेदवारको सूची बनाउन पनि प्रदेश समितिलाई जिम्मेवारी दिइएको छ।
त्यस्तै, जिल्ला समितिलाई प्रत्येक वडामा खटिने टोली बनाउन निर्देशन दिइएको छ। यससँगै स्थानीय तहका समितिलाई पनि वडा केन्द्रित कार्यक्रम बनाउन भनिएको छ।
७७ वटै जिल्लामा एकै समयमा अभियान उद्घाटन हुने भएको छ। २९ फागुन दिउँसो १ बजे सबै जिल्लामा अभियानको उद्घाटन गरिने भएको छ।
यस क्रममा कांग्रेसका स्थानीय समितिलाई पूर्णता दिइने भएको छ। वडा र स्थानीय तहका समितिलाई चुनावी रणनीति बनाउन पनि जिम्मेवारी दिइएको छ।
अभियानकै समयमा स्थानीय चुनाव घोषणापत्रको मस्यौदा बनाउने, यसका लागि नागरिकसँग संवाद, अन्तरक्रिया गर्ने कार्यक्रम तय गरिएको छ।