कस्तो आउँदै छ एक रुपैयाँको नयाँ सिक्का?
नेपाल राष्ट्र ब्यांकले फेरि एक रुपैयाँको सिक्का प्रचलनमा ल्याउन लागेको छ।
ब्यांकले २५ फागुनदेखि नयाँ सिक्का प्रचलनमा ल्याउन लागेको जनाएको छ। ब्यांकको मुद्रा व्यवस्थापन विभागका अनुसार, पहिलेकै आकारमा सुनौलो रङमा टकमरी गरिएको साल २०७७ लेखिएको सिक्का चलनचल्तीमा आउनेछ।
सिक्काको अग्रभागमा ६४ वटा थोप्ला राखिएका छन्। थोप्लाको वृत्ताकार घेराभित्र हिमाल, पहाड र तराईको पृष्ठभूमिमा सात प्रदेश अङ्कित नेपालको नक्शा राखिएको छ।
त्यस्तै, सिक्काको माथिल्लो भागमा ‘Re. One’ र तल्लो भागमा ‘१ रुपैयाँ’ लेखिएको छ। यससँगै नेपालको नक्शाको दायाँतर्फ फरक क्षमता भएका (दृष्टिविहीन) व्यक्तिले स्पर्श गरेर सिक्काको दर पहिचान गर्नका लागि एउटा मोटो थोप्लो पनि राखिएको विभागले जनाएको छ।
सिक्काको पछाडिको भागमा पनि वृत्ताकार घेराभित्र ६४ वटा थोप्ला रहेका छन्। वृत्ताकार घेराभित्रको वर्गाकार आकृति वरिपरि चन्द्र, सूर्य, चक्र, शङ्ख, पद्म, गदा तथा बीचमा सगरमाथाको आकृति राखिएको छ। र आकृतिको मुनि ‘SAGARMATHA NEPAL’ लेखिएको छ।
यससँगै सिक्काको माथिल्लो भागमा ‘नेपाल’ र तल्लो भागमा ‘२०७७’ लेखिएको छ।