यस्ता छन् माओवादी केन्द्रीय समितिका निर्णय
नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समिति बैठकले गठबन्धनमा तालमेल नभएमा एक्लै चुनाव लड्ने तयारी सहितका विभिन्न निर्णय गरेको छ।
सोमबार काठमाडौंमा सम्पन्न केन्द्रीय समिति बैठकले केन्द्रीय सदस्य मनोनयनदेखि आगामी चुनावी तयारीका विषयमा निर्णय गरेको नेता वर्षमान पुनले बताए। बैठकका निर्णयबारे सञ्चारकर्मीलाई जानकारी दिंदै पुनले नयाँ ढङ्गले अगाडि बढ्ने गरी निर्णय भएको बताए।
माओवादी अध्यक्ष पुष्पकमल दाहालले ९७ केन्द्रीय सदस्य मनोनीत गर्ने प्रस्तावलाई केन्द्रीय समितिले पारित गरेको छ। योसँगै माओवादी केन्द्रीय समिति ३४४ सदस्यीय बनेको छ। यसअघि २४७ केन्द्रीय सदस्य थिए।
त्यस्तै, वैकल्पिक केन्द्रीय सदस्य थप्ने निर्णय गरेको छ। “केन्द्रीय समितिको २५ प्रतिशतले नबढ्ने गरी वैकल्पिक केन्द्रीय सदस्य थप्ने निर्णय भएको छ,” नेता पुनले भने, “चुन्ने र चुनिने बाहेक वैकल्पिक केन्द्रीय सदस्यलाई सबै अधिकार हुनेछ।” अर्को बैठकबाट वैकल्पिक केन्द्रीय सदस्यको टुङ्गो लगाइने भएको छ।
केन्द्रीय समितिले पोलिटब्यूरो, स्थायी समिति र पदाधिकारीको टुङ्गो अर्को बैठकबाट लगाउने निर्णय भएको छ। गत पुसमा सम्पन्न आठौं महाधिवेशनले अध्यक्ष मात्रै चयन गरेको थियो। पदाधिकारी, स्थायी समिति र पोलिटब्यूरो गठन गर्न बाँकी छ।
माओवादी केन्द्रीय समितिले गरेको अर्को निर्णय अमेरिकी सहायता परियोजना एमसीसी सम्झौता सम्बन्धी छ। “एमसीसीको मतभेदलाई सम्मानजनक रूपमा केन्द्रमा राख्ने र आगामी २० जेठमा केन्द्रीय समिति बैठकमा छलफल गर्ने निर्णय भएको छ,” पुनले भने, “त्यसअघि केन्द्रीय कार्यालयले गरेको निर्णय लागू भइसकेको छ, त्यसलाई नै ‘डिफेन्ड’ गरेर जाने निर्णय भएको छ।”
स्थानीय चुनावको तयारी सम्बन्धी पनि माओवादीले निर्णय गरेको छ। यसमा एक्लै चुनाव लड्ने गरी तयारी थाल्ने निर्णय भएको पुनले बताए।
“आफ्नै खुट्टामा उभिएर र आफ्नै शक्तिमा भर गरेर चुनाव लड्ने तयारी गर्ने निर्णय गरेका छौं। जहाँ जहाँ मिल्न सकिन्छ मिल्ने गरी कार्यदल बनाएर काम गर्छौं,” उनले भने।
यसका लागि माओवादीले दुई महीने अभियान सञ्चालन गर्ने भएको छ। अभियानका क्रममा सबै केन्द्रीय सदस्यले आआफ्नो जिल्ला, स्थानीय तह र वडासम्म जानुपर्ने निर्णय गरेको छ।
यसै गरी केन्द्रीय समिति बैठकले स्थानीय चुनावका लागि कार्यदल बनाउने निर्णय गरेको छ। केन्द्र, प्रदेश र स्थानीय तहमा कार्यदल गठन हुने उनले बताए। “कार्यदलले तालमेल गर्न सकिने वा नसकिने टुङ्गो लगाउनेछ,” पुनले भने, “गठनबन्धनमा तालमेल भए राम्रो, नभए आफ्नो ढङ्गले लड्ने तयारी गर्छौं।”
माओवादी केन्द्रीय समितिले गरेको अर्को निर्णय चुनाव परिचालन समिति गठन गर्नेछ। केन्द्रदेखि वडा तहसम्म चुनाव परिचालन समिति गठन गरिने उनले बताए। “वडा र पालिका केन्द्रित भएर चुनाव परिचालन समिति गठन गर्छौं,” पुनले भने, “७५३ पालिका र ६ हजार ७४३ वडामै हामी तयारी गर्छौं।”
गाउँपालिका र प्रदेशमा गठन हुने चुनाव परिचालन समितिलाई उम्मेदवारको रोस्टर बनाउने जिम्मेवारी दिइएको छ। लोकप्रिय व्यक्तिलाई उम्मेदवार बनाउने गरी काम हुने उनको भनाइ छ।