चुनावमा तालमेल गरेर ठूलो सफलता हासिल गर्छौं: नेपाल
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आगामी चुनावमा तालमेल गरेर ठूलो सफलता हासिल गर्ने दाबी गरेका छन्।
सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा अध्यक्ष नेपालले आगामी चुनावमा तालमेल गरेर जाने बताए। “जो–जोसँग मिल्छ तालमेल गर्छौं,” नेपालले भने, “तालमेल गरेर चुनावमा अत्यधिक ठूलो सफलता हासिल गर्ने विश्वास लिएका छौं।”
त्यसका लागि स्थानीय तहसम्मै चुनावी तयारी थालेको उनको भनाइ छ। “आगामी चुनावलाई केन्द्रमा राखेर प्रत्येक पालिका, वडा, टोल टोलमा कमिटी विस्तार गर्छौं,” नेपालले भने।
चुनाव केन्द्रित कार्यक्रम ल्याउन केन्द्रीय समितिको बैठक बोलाइएको उनको भनाइ छ। एकीकृत समाजवादीले २५ फागुनमा केन्द्रीय समितिको बैठक बोलाएको छ।