शिशु सहित पाँच जनाको निसासिएर मृत्यु भएको प्रहरीको प्रारम्भिक अनुमान
ललितपुरको कोन्ज्योसोम गाउँपालिका-४ नल्लुमा शिशु सहित पाँच जनाको मृत्यु भएको छ। उनीहरूको निसासिएर मृत्यु भएको प्रहरीको प्रारम्भिक अनुमान छ।
महानगरीय प्रहरी परिसर ललितपुरका अनुसार, ५५ वर्षीय काइँला स्याङताङ, उनकी बुहारी २२ वर्षीया सुष्मा स्याङताङ, नाति नौ वर्षीय आशिष स्याङताङ, नातिनी पाँच वर्षीया आश्मा स्याङताङ र नवजात शिशुको मृत्यु भएको छ। आइतबार बिहान चार जना घरभित्रै मृत भेटिएका थिए भने नवजात शिशुको उपचारका क्रममा मृत्यु भएको हो।
आज बिहान सिकिस्त अवस्थामा भेटिएका शिशु सहित २२ वर्षीय सुभाष स्याङताङलाई ललितपुरको गणेशमान सिंह मेमोरियल अस्पताल लगिएको थियो। शिशुको उपचारका क्रममा मृत्यु भएको र सुभाषको उपचार भइरहेको महानगरीय प्रहरी परिसरका वरिष्ठ उपरीक्षक (एसएसपी) यज्ञविनोद पोखरेलले बताए।
छिमेकी गाउँबाट सोमबार बिहानै उनकी छोरी रोशनी घर आएकी थिइन्। ढोका भित्रबाट बन्द रहेको र बोलाउँदा कोही नबोलेपछि छिमेकी आएका थिए। झ्यालबाट घरभित्र गएर हेर्दा चार जना मृत अवस्थामा र दुई जना बेहोस अवस्थामा भेटिएको एसएसपी पोखरेलले बताए।
प्रहरीका अनुसार, ढोका लगाएर तलको प्वाल समेत कपडाले टालिएको र भित्र आगो बालेको पाइएको छ। जसले गर्दा निसासिएर मृत्यु भएको हुन सक्ने प्रहरीको अनुमान छ। यसमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।