माओवादी पदाधिकारी चयनमा अलमल, केन्द्रीय सदस्य मनोनयनको तयारी
नेकपा (माओवादी केन्द्र) का पदाधिकारी चयनमा अलमल देखिएको छ भने आज केन्द्रीय सदस्य मनोनयन गर्ने तयारी भएको छ।
आज बोलाइएको केन्द्रीय समिति बैठकअघि माओवादी अध्यक्ष पुष्पकमल दाहाल निवास खुमलटारमा भएको छलफलमा केन्द्रीय सदस्य मनोनयन गर्ने तय भएको छ। माओवादी पूर्व स्थायी समिति सदस्य गणेश साहले आज केन्द्रीय सदस्य मनोनयन हुने बताए। “आज केन्द्रीय समितिले पूर्णता पाउँछ,” छलफलपछि नेता साहले भने।
गत पुसमा सम्पन्न माओवादी आठौं महाधिवेशनले २९९ सदस्यीय केन्द्रीय समिति हुने विधान पारित गरेको थियो। अहिले माओवादी केन्द्रीय समिति २४७ सदस्यीय छ। बाँकी केन्द्रीय सदस्य अध्यक्ष दाहालले मनोनीत गर्नेछन्।
माओवादी केन्द्रीय पदाधिकारीको भने टुङ्गो लागेको छैन। माओवादी विधानमा १५ पदाधिकारी रहने व्यवस्था छ। जसमा एक अध्यक्ष, एक वरिष्ठ उपाध्यक्ष, सात उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव, तीन सचिव र एक कोषाध्यक्ष रहने व्यवस्था छ। अहिले अध्यक्ष मात्र छन्।
२० फागुनमा माओवादी केन्द्रीय समिति बैठक शुरू भएको थियो। पदाधिकारी चयनका लागि गृहकार्य गर्नुपर्ने भन्दै एक दिन सारिएको थियो। सहमति जुट्न नसक्दा २२ फागुनमा पनि बैठक बस्न सकेन।
आइतबार स्थगन भएको केन्द्रीय समिति बैठक आज बस्ने तय भएको छ। बैठकअघि अध्यक्ष दाहालले नेताहरूसँग छलफल गरेका छन्।