साना दललाई चुनाव चिह्न नदिनु संविधान प्रतिकूल: तमलोपा
तराई मधेश लोकतान्त्रिक पार्टी (तमलोपा) ले स्थानीय निर्वाचनमा सबै दलले दलीय चुनाव चिह्न पाउनुपर्ने माग गरेको छ।
तमलोपा अध्यक्ष वृषेशचन्द्र लालले आइतबार विज्ञप्ति जारी गर्दै सबै पार्टीले आआफ्नो दलीय चुनाव चिह्न पाउनुपर्नेमा जोड दिएका हुन्।
स्थानीय तह निर्वाचन ऐन, २०७३ मा राष्ट्रिय दलको मान्यताप्राप्त पार्टीका उम्मेदवारलाई मात्रै सम्बन्धित दलको चुनाव दिने व्यवस्था छ। ऐन अनुसार, बाँकी सबै दलका उम्मेदवारले स्वतन्त्र उम्मेदवारको हैसियतमा चुनाव लड्नुपर्ने प्रावधान छ। तमलोपाले ऐनको यही व्यवस्थाको विरोध गरेको हो।
‘स्थानीय तह निर्वाचन ऐन, २०७३ को २६ को (६) र (७) बहुदलीय लोकतन्त्रको मान्य सिद्धान्तको विपरीत मात्र नभई संविधानको भावना र मर्मको प्रतिकूल पनि भएको तमलोपाको ठहर छ,’ विज्ञप्तिमा भनिएको छ।
स्थानीय तहमै राजनीतिक दलले आफ्नो चुनाव चिह्न जनताबीचमा लैजान नपाउँदा राजनीतिक दलको आधार खडा नहुने अध्यक्ष लालको निष्कर्ष छ।