संसद् चलेन भने भङ्ग गर्नुपर्छ, स्थानीय चुनाव पनि सर्न सक्छ: माधव नेपाल
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले संसद् चल्न सकेन भने भङ्ग गरेर आम चुनावमा जानुपर्ने बताएका छन्।
आइतबार प्रतिनिधि सभाको बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीसँग कुराकानी गर्दै अध्यक्ष नेपालले संसद् भङ्ग गर्नुपर्ने विषयमा सोच्नुपर्ने बताए। “संसद् चल्न पनि नदिने, केही गतिविधि गर्न पनि नदिने, संसद्लाई पङ्गु बनाउने,” अध्यक्ष नेपालले भने, “भत्ता खाने, हामीलाई पनि हैरान पार्ने!”
यस्ता अवस्थामा संसद् भङ्ग गरेर चुनावमा जानुपर्ने बताए। “केपी ओलीको वितण्डालाई सामना गर्न संसद्लाई भङ्ग गरिदिने,” नेपालले भने, “न संसद् रहन्छ, न हङ्गामा गर्ने ठाउँ रहन्छ। चुनाव गर्ने।”
अब संसद् भङ्ग गरेर चुनावमा जाने विषयमा सोच्नुपर्ने वेला आएको उनको भनाइ थियो। प्रतिनिधि सभाको मात्रै कि सबै चुनाव भन्ने विषयमा नेपालले सङ्क्षिप्त प्रतिक्रिया दिए, “सबै प्याकेजमा जान्छ।”
सरकारले आगामी ३० वैशाखमा स्थानीय चुनावको घोषणा गरेको छ। निर्वाचन आयोगले त्यसको तयारी गरिरहेको छ।
स्थानीय चुनावअघि कि पछि भन्ने प्रश्नमा नेपालले छलफल चलिरहेको बताए। छिटै प्रतिनिधि चुनाव गर्नुपर्दा स्थानीय तहको चुनाव सार्नुपर्ला नि भन्ने प्रश्नमा अध्यक्ष नेपालले भने, “त्यो पनि हुन सक्छ।”
यसअघि शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पनि आम चुनावमा जान सकिने बताएका थिए। सभामुखको राजीनामा माग गर्दै एमालेले लामो समयदेखि संसद् अवरुद्ध गर्दै आएको छ।