एमसीसी सम्झौता अनुमोदनको निजी क्षेत्रका प्रमुख संस्थाले गरे स्वागत
प्रतिनिधि सभाले गरेको मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौता अनुमोदनकाे निजी क्षेत्रका प्रमुख दुई संस्थाले स्वागत गरेका छन्।
नेपाल उद्योग वाणिज्य महासंघले सोमबार विज्ञप्ति जारी गरी प्रतिनिधि सभाबाट व्याख्यात्मक घोषणाका साथ अनुमोदन भएकाले अब यसबारे फैल्याइएका भ्रम चिरिने विश्वास व्यक्त गरेको छ। महासंघले अब यो परियोजना पूर्ण रूपमा कार्यान्वयनको चरणमा जाने विश्वास पनि जनाएको छ।
“नेपालको विकासमा रणनीतिक महत्त्व राख्ने विद्युत् प्रसारण लाइन र सडक मर्मत आयोजना समयमै निर्माण सम्पन्न गर्न सक्दा उच्च आर्थिक वृद्धिलाई सघाउ पुग्ने हाम्रो विश्वास छ,” विज्ञप्तिमा भनिएको छ।
निजी क्षेत्रको अर्को संस्था नेपाल उद्योग परिसंघले पनि संसदीय अनुमोदनसँगै तोकिएको अवधिमा सम्झौता बमोजिका आयोजना कार्यान्वयन भई नेपालको पूर्वाधार विकासमा महत्त्वपूर्ण योगदान पुग्ने जनाएको छ। परिसंघले सम्झौता अनुमोदनसँगै नेपाल र अमेरिकाबीचको द्विपक्षीय सम्बन्धलाई नयाँ उचाइ दिन र विश्वास अभिवृद्धिमा टेवा पुग्ने विश्वास पनि जनाएको छ।
दुवै संस्थाले सरोकारवाला निकाय र प्रभावित क्षेत्रका बासिन्दालाई विश्वासमा लिएर परियोजनाको काम अघि बढाउन तथा तोकिएको अवधिमा आयोजना कार्यान्वयन सम्पन्न गर्न आग्रह पनि गरेका छन्।