माधव नेपाललाई भेटेपछि दाहालले भने- गठबन्धन टुट्दैन, एमसीसी सहमतिमै अघि बढ्छ
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले अमेरिकी सहायता परियोजना एमसीसी सम्झौतालाई सहमतिमै अघि बढाइने बताएका छन्।
शनिबार दाहालले नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल सहित नेताहरूसँग सिंहदरबारमा छलफल गरेका थिए। छलफलपछि बाहिरिने क्रममा सञ्चारकर्मीलाई सङ्क्षिप्त प्रतिक्रिया दिंदै दाहालले भने, “गठबन्धन टुट्दैन। एमसीसी पनि सहमतिमै अघि बढ्छ।”
एमसीसी सम्झौताका विषयमा विवाद बढिरहेका वेला दाहाल र नेपाल सहितका नेताहरूले छलफल गरेका हुन्। उनीहरूले गठबन्धन जोगाउने गरी एमसीसी सम्झौतालाई अघि बढाउने विषयमा छलफल गरेको जनाइएको छ।
उनले एमसीसी सम्झौतालाई पारित गर्ने विषयमा पनि छलफल भइरहेको बताए। “गठबन्धन पनि नटुट्ने र एमसीसी समस्या पनि समाधान गर्ने उपाय खोजिरहेका छौं,” दाहालले भने, “छलफल चलिरहेको छ, सहमति हुन्छ।”
एमसीसी सम्झौताको विषयलाई लिएर सत्तारूढ गठबन्धनभित्र विवाद उत्पन्न भएको छ। नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा) यसको पक्षमा छन् भने माओवादी, एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चा विपक्षमा छन्।
नेकपा (एमाले) ले यस विषयमा अहिलेसम्म कुनै निर्णय गर्न सकेको छैन। प्रधानमन्त्री शेरबहादुर देउवाले सहयोग जुटाउन एमालेसँग संवाद गर्दै आएका छन्।