दाहाललाई बाबुरामको सुझाव- एमसीसीको पक्षमा भोट नदिने भए सरकार छाड्नुस्
जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाललाई सरकार र एमसीसीमध्ये एउटा रोज्न सुझाव दिएका छन्।
काठमाडौंमा शनिबार जसपाले आयोजना गरेको प्रशिक्षण तथा पार्टी प्रवेश कार्यक्रममा बोल्दै पूर्व प्रधानमन्त्री भट्टराईले भने, “खास गरी मेरा पुराना मित्र प्रचण्डजीलाई भन्न चाहन्छु कि तपाईंले यसलाई साथ दिएर कम्तीमा १३८ सांसद पुर्याएर पास गर्नुहोस् होइन भने सरकार छाड्नुस्, त्यसको ठाउँमा अर्को आउँछ।”
सत्तामा बसेर तर पनि मार्ने र भित्र भित्र एमसीसी विरोधीसँग मिलेर साखुल्ने नबन्न पनि भट्टराईले दाहाललाई आग्रह गरे। प्राविधिक रूपमा ३५ सांसद भए एमसीसी पारित हुने भए पनि प्रतिनिधि सभाका २७५ को बहुमत अर्थात् कम्तीमा १३८ सांसदले यसलाई पारित गर्नुपर्ने उनको भनाइ थियो।
सकभर राष्ट्रिय सहमति नै गर्नुपर्नेमा भट्टराईले जोड दिए। नेपालले अमेरिका मात्रै होइन, चीन र भारतले दिने विकास सहयोग पनि ग्रहण गर्नुपर्ने उनको भनाइ थियो।