रूसी आक्रमणपछि यस्तो छ युक्रेन (तस्वीरहरू)
रूसले युक्रेनमाथि तेस्रो दिन पनि आक्रमण जारी राखेको छ भने युक्रेनी सैनिकसँगै नागरिक हतियार बोकेर प्रतिरक्षामा उत्रिएका छन्।
रूसले १२ फागुनदेखि युक्रेनमाथि आक्रमण गरिरहेको छ। रूसी सैनिक युक्रेनको राजधानी किइभ प्रवेश गरेका छन्। राजधानीका विभिन्न स्थानमा रूसी र युक्रेनी सैनिकबीच भिडन्त चलिरहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्।
रूसी सैनिकले शुरूआतमा युक्रेनी सैनिक क्याम्पलाई लक्षित गरेर आक्रमण गरेको भए पनि पछिल्लो समय भने आवासीय क्षेत्रमै आक्रमण गरिरहेको छ। रूसी हवाई आक्रमणबाट राजधानी किइभका ठूलठूला भवन क्षतिग्रस्त भएका तस्वीर आएका छन्। केही स्थानमा अस्पतालमा पनि आक्रमण भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले उल्लेख गरेका छन्।
रूसी सैनिक राजधानीमै प्रवेश गरेपछि अमेरिकाले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई बाहिर जान सघाउने प्रस्ताव गरेको छ। त्यसलाई भने युक्रेनी राष्ट्रपति जेलेन्स्कीले अस्वीकार गरेका छन्। अमेरिकी नेतृत्वलाई ‘लडाइँ यहाँ भइरहेको छ’ भन्दै युक्रेनी राष्ट्रपति जेलेन्स्कीले ‘मलाई सवारी होइन, गोलाबारुद चाहिन्छ’ भन्ने जवाफ दिएको टाइम्सले लेखेको छ।
युक्रेनी सेनालाई हतियार बिसाउन लगाएर राष्ट्रपति बाहिर गएको हल्ला चलेपछि उनले सडकमै ओलिएर भिडिओ सन्देश जारी गरेका छन्। “हामी हतियार बिसाउनेछैनौं, हाम्रो देशको रक्षा गर्नेछौं,” राजधानी किइभको सडकबाट शनिबार जारी राष्ट्रपतिको भिडिओ सन्देशमा भनिएको छ, “हाम्रो हतियार नै सत्य हो। हाम्रो सत्य के हो भने यो हाम्रो भूमि हो, हाम्रो देश हो, हाम्रो सन्तति हो। र, हामी यी सबैको रक्षा गर्नेछौं।”
त्यस्तै, युक्रेनका पूर्व राष्ट्रपति पेट्रो पोरोसेन्को भने सर्वसाधारणसँगै हतियार बोकेर सडकमा उत्रिएका छन्। उनले सीएनएनसँग कुराकानी गर्दै देशको रक्षाका लागि नागरिकसँगै सडकमा उत्रिएको बताएका थिए।
युक्रेनी सैनिकसँगै नागरिक पनि हतियार बोकेर रूसी सेनासँग भिड्न सडकमा आएका छन्। हजारौं युक्रेनी नागरिक देश छोडेर छिमेकी देश पोल्यान्ड, रोमानियातर्फ लागेका छन्।