बारले प्रचण्ड विचारको प्रतिनिधित्व गरेको छ: ओली
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपाल बार एसोसिएशनले नेकपा (माओवादी केन्द्र) पुष्पकमल दाहालको विचारको प्रतिनिधित्व गरेको आरोप लगाएका छन्।
प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा विरुद्धको आन्दोलन त्यसैको प्रतिफल भएको ओलीको भनाइ थियो। “अस्तव्यस्त मच्चाउने विचारको प्रतिनिधित्व बारले गरेको छ। प्रचण्ड विचारको प्रतिनिधित्व बारले गरेको छ,” एमाले अध्यक्ष ओलीले भने।
उनले प्रधानन्यायाधीश जबरा विरुद्ध भएको आन्दोलन र सत्तापक्ष दलले दर्ता गरेको महाअभियोगको प्रस्ताव उस्ताउस्तै भएको टिप्पणी गरे। महाअभियोग प्रस्ताव पारित गर्नका लागि नल्याइएको बताए। “महाअभियोग प्रस्ताव पारित हुँदैन। यो पारित गर्नका लागि ल्याइएको होइन, न्यायालयलाई अस्तव्यस्त बनाउनका लागि ल्याइएको हो,” ओलीले भने।
शनिबार एमाले निकट प्रगतिशील तथा पेशागत कानून व्यवसायी संगठन, नेपालको दोस्रो राष्ट्रिय सम्मेलन उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले न्यायालय क्षेत्रको व्यापक उपचार गर्नुपर्ने बताए। “एक जना न्यायाधीशमाथि महाअभियोग लगाएर केही सुधार हुँदैन,” ओलीले भने, “सबैको खुट्टामा घाउ भएको छ भने एउटाको खुट्टामा मलम दलेर निको हुन्छ? व्यापक उपचार चाहिएको छ।”
संगठनमा आबद्ध कानून व्यवसायीलाई बारको पछाडि नलाग्ने उनको निर्देशन थियो। एमाले निकट कानून व्यवसायीलाई ओलीले भने, “आँखामा फुलो परेका साथीहरू संगठनको अग्रभागमा नबसे हुन्छ। अप्रेशन गरेर आउनुस्।”