एमसीसी र गठबन्धन जोगाउने उपायमा छलफल भइरहेको छ: दाहाल
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले अमेरिकी सहायता परियोजना एमसीसी र पाँच दलीय गठबन्धन जोगाउने उपायबारे छलफल भइरहेको बताएका छन्।
शुक्रबार दिलबहादुर रम्तेल स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले अहिलेसम्म प्राप्त उपलब्धि एमसीसीकै कारण गुम्ने स्थिति पैदा भएको बताए। “अहिलेसम्म प्राप्त उपलब्धि एमसीसीकै कारण गुम्ने त होइन भन्ने स्थिति पैदा भएको छ,” दाहालले भने।
एमसीसीको विषयलाई लिएर प्रतिगमनकारी शक्ति पाँच दलीय गठबन्धनभित्र खेल्न थालेको उनको भनाइ थियो। “जसलाई हामीले प्रतिगमनकारी भन्यौं, जुन कदमलाई हामीले प्रतिक्रान्तिकारी भन्यौं, जसका विरुद्धको संघर्षबाट नयाँ गठबन्धन बन्यो,” दाहालले भने, “एमसीसीकै कारणले गठबन्धन टुट्ने, तिनै प्रतिगमनकारी शक्ति फेरि हावी हुने त होइनन् भन्ने स्थिति बनेको छ। गठबन्धन सजिलै नटुटोस् भनेर लागिराखेका छौं।”
उनले एमसीसीको समस्या पनि समाधान हुने र गठबन्धन पनि जोगिने गरी छलफल चलिरहेको बताए। “एमसीसीको समस्या पनि समाधान होस्, गठबन्धन पनि नटुटोस् भन्ने उपायमा छलफल भइरहेको छ,” दाहालले भने।
८ फागुनमा एमसीसी सम्झौता प्रतिनिधि सभामा टेबल भएको छ। यसलाई पारित गर्ने विषयमा सत्तारूढ गठबन्धनभित्र मतभिन्नता देखिएको छ।
नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा) यसको पक्षमा उभिएका छन् भने माओवादी, नेकपा (एकीकृत समाजवादी) र राष्ट्रिय जनमोर्चा विपक्षमा उभिएका छन्।