रातारात गठबन्धन तोड्ने षड्यन्त्र भइरहेको छ: नेपाल
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले गठबन्धन तोड्न रातारात षड्यन्त्र भइरहेको आरोप लगाएका छन्।
पाँच दलीय गठबन्धन तोड्न र सरकारमा आउन रातारात षडयन्त्र भइरहेको जनाउँदै त्यसलाई सफल हुन नदिने बताए। प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच भइरहेका भेटवार्तालाई इङ्गित गर्दै उनले षड्यन्त्रको संज्ञा दिएका हुन्। उनले यसमा एमाले अध्यक्ष ओलीले गठबन्धन तोड्न षड्यन्त्र गरिरहेको सङ्केत गरे।
“सरकारबाट हटाइदेऊ, प्रदेश सरकारमा मुख्यमन्त्री बनाइदेऊ, हामीलाई मौका देऊ भन्ने खालका कुरा गरेर रातारात षड्यन्त्र भइरहेका छन्,” एकीकृत समाजवादीका अध्यक्ष नेपालले भने, “अनेक खालका ब्ल्याकमेल गर्ने कुरा हुँदै छन्, त्यसलाई पनि विफल पार्न लागेको छु।”
एकीकृत समाजवादी निकट प्राध्यापक संगठनको राष्ट्रिय सम्मेलनलाई शनिबार सम्बोधन गर्दै नेपालले गठबन्धन तोड्ने षड्यन्त्रलाई पराजित गर्ने बताए। “एकातिर देशको हित रक्षा कर्तव्यबाट प्रेरित छौं भने अर्कातर्फ प्रगतिशील गठबन्धनलाई जोगाऔं भन्ने उद्देश्य पनि राखेका छौं,” नेपालले भने, “गठबन्धन जसरी पनि तोड्न खोज्ने तत्त्वलाई पराजित गर्छौं।”
अमेरिकी सहायता परियोजना एमसीसी सम्झौताको विषयलाई लिएर गठबन्धनमा केही मतभेद भए पनि गठबन्धन जोगाउने प्रयास भइरहेको बताए। यथास्थितिमा एमसीसी सम्झौता पारित गर्न नसकिने उनको भनाइ थियो।
“नेपाल कुनै पनि सैनिक या सुरक्षा नीतिको अङ्ग बन्न सक्दैन। छिमेकी देशलाई असर पर्ने काम नेपालको संलग्नतामा, नेपालको भूमिबाट हुन सक्दैन,” नेपालले भने।
एमसीसी सम्झौतामा भएका शर्तलाई भने अनुचित मान्न नहुने नेपालको भनाइ थियो। “एमसीसी निशर्त हुनुपर्छ भन्ने आएको छ, यो निशर्त त हुँदैन,” नेपालले उदाहरण दिंदै भने, “तपाईंलाई मैले १० हजार रुपैयाँ दिएँ, जानुस् धनगढी पुगेर आउनुस् भनें। तपाईं धनगढी नगएर सुटबूट किनेर ल्याउनुभयो, देखाउनुभयो। त्यो सुटबूट किन्नलाई दिएको त होइन। त्यसैले जुन उद्देश्यका लागि दिइएको छ, खर्च त्यसैमा हुनुपर्छ भन्ने कुरालाई अनुचित मान्नु हुँदैन।”