एमाले र कांग्रेसले थाले लोकतान्त्रिक गठबन्धन निर्माणको छलफल
सत्तारूढ पाँच दलीय गठबन्धनमा तीव्र विवाद बढिरहेका वेला नेपाली कांग्रेस र नेकपा (एमाले) बीच लोकतान्त्रिक गठबन्धन निर्माणबारे सघन छलफल भएको छ।
प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओली लगायतका नेताहरू बीच शुक्रबार साँझ बालकोटस्थित ओली निवासमा नयाँ गठबन्धन बनाउने विषयमा छलफल भएको हो।
बैठकमा सहभागी एमाले उपमहासचिव प्रदीप ज्ञवालीले लोकतन्त्रका लागि लडेका शक्तिहरू एक ठाउँमा आउनुपर्ने विषयमा छलफल भएको जानकारी दिए।
“लोकतन्त्रका लागि सबैभन्दा बढी संघर्ष गरेका र निर्णायक भूमिका खेलेका कांग्रेस र एमालेबीच न्यूनतम समझदारी चाहिन्छ। त्यसो नहुँदा देशमा विभिन्न समस्या सिर्जना हुन सक्छन् त्यस्तो समझदारी कसरी हुन सक्छ? भन्ने विषयमा छलफल भयो,” ज्ञवालीले भने, “अस्थिर र अराजक पात्रहरूले देशको राजनीतिलाई निरन्तर दूषित गरिरहेका छन्। त्यसबाट राजनीतिलाई कसरी सफा गर्न सकिन्छ भन्ने विषयमा पनि छलफल भयो।”
सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले पनि लोकतन्त्रका लागि लडेका दलहरू एक ठाउँमा आउनुपर्ने विषयमा छलफल भएको बताए।
“हामीले धेरै ठूलो संघर्ष गरेर लोकतन्त्रको स्थापना गरेका छौं र त्यो यात्राका हामी सहयात्री हौं,” कांग्रेस नेता समेत रहेका मन्त्री कार्कीले भने “उन्नत लोकतन्त्रलाई अगाडि बढाउने हो भने प्रजातान्त्रिक मूल्य-मान्यता भएका शक्तिहरू एक ठाउँमा रहनु जरुरी छ।”
बैठकमा प्रधानमन्त्री देउवाले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) कम्प्याक्टलाई सबैको सहमतिमा अनुमोदन गरौं भन्ने प्रस्ताव गरेका थिए। एमसीसीकै विषयमा गठबन्धनमा विवाद बढेपछि देउवाले ओलीको साथ मागेका हुन्। एमाले अध्यक्ष ओलीले भने आफ्नो पार्टीको माग पूरा गर्नुपर्ने पुरानै अडान दोहोर्याएका थिए।
छलफलमा प्रधानमन्त्री देउवा, कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, सञ्चार मन्त्री कार्की, एमाले अध्यक्ष ओली, महासचिव शंकर पोखरेल र उपमहासचिव ज्ञवाली सहभागी थिए।
मन्त्री कार्की र उपमहासचिव ज्ञवाली दुवैले संवाद निरन्तर जारी रहने बताए।