एमाले–कांग्रेस सहित ५१ दलले दिए आयोगमा दल दर्ताको निवेदन
आगामी वैशाखमा हुन लागेको स्थानीय निर्वाचनका लागि नेकपा (एमाले), नेपाली कांग्रेस सहित ५१ दलले निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दिएका छन्।
संघीय संसद्को सबैभन्दा ठूलो दल नेकपा (एमाले) का महासचिव शंकर पोखरेल दल दर्ताका लागि निवेदन सहित शुक्रबार आयोग पुगेका थिए। आजै सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ सहितको टोली पनि आयोगमा पुगेको हो।
स्थानीय निर्वाचनका निवेदन दिने दलको सङ्ख्या ५१ पुगेको आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद आर्यालले जानकारी दिए। स्थानीय तहको निर्वाचनका लागि आयोगले १५ फागुनभित्र दल दर्ता आह्वान गरेको छ।