देउवाजीलाई केपी ओलीसँग अनुचित सम्झौता नगर्नुस् भनेको छु: माधव नेपाल
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफूले प्रधानमन्त्री शेरबहादुर देउवालाई नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीसँग सम्झौता नगर्न सचेत गराएको बताएका छन्।
अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौता संसद्बाट अनुमोदन गर्ने विषयमा सत्ता गठबन्धनबीच विवाद भइरहेका वेला अध्यक्ष नेपालले यस्तो प्रतिक्रिया दिएका हुन्।
“प्रधानमन्त्रीज्यूलाई कुनै कुरामा हतार नगर्नुस्, बसेर छलफल गर्नुस्, केपी ओलीसँग अनुचित सम्झौता गर्ने काम नगर्नुस् भनेको छु,” शुक्रबार संसद् भवनमा सञ्चारकर्मीलाई प्रतिक्रिया दिंदै नेपालले भने, “हाम्रो विरुद्धमा वा समर्थन पाउने नाममा सीमा नाघेर अघि नबढ्नुस् भनेका छौं।”
आफ्नो पार्टीले यथास्थितिमा एमसीसीको पक्ष लिन नसक्ने अध्यक्ष नेपालको भनाइ थियो। एकीकृत समाजवादीले एमसीसीको विपक्षमा मतदान गर्ने निर्णय गरेको थियो।
एमसीसी सम्झौता ८ फागुनमा प्रतिनिधि सभामा टेबल भएको छ। सत्तारूढ गठबन्धनमा विवाद हुँदा यसमाथि छलफल हुन सकेको छैन।
जसले गर्दा प्रतिनिधि सभाको बैठक दुई पटक स्थगन भइसकेको छ। अर्को बैठक १५ फागुन दिउँसो १ बजे बोलाइएको छ। त्यसअघि सहमति जुटाउन गठबन्धनका नेता प्रयासरत छन्।