रूसी राष्ट्रपति पुटिन एक्काइसौं शताब्दीका हिटलर हुन् : डा. केसी
डा. गोविन्द केसीले युक्रेनमाथिको रूसी आक्रमण एक्काइसौं शताब्दीमा कल्पना पनि गर्न नसकिने घटना भएको बताएका छन्।
युक्रेनमाथिको आक्रमणले आफूलाई आहत बनाएको डा. केसीले टिप्पणी गरेका छन्। “पुटिन एक्काइसौं शताब्दीका हिटलर हुन्। उनी हिटलरभन्दा पनि क्रूर छन्,” डा. केसीले भनेका छन्।
उनले यसको विरोध गर्न आग्रह गरेका छन्। “संसारभरिका सबैले यसको घोर विरोध र भर्त्सना गर्नुपर्छ र रोक्ने प्रयास गर्नुपर्छ,” डा. केसीले भनेका छन्, “म यो घटनाले आहत भएको छु।”
रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले आदेश दिएसँगै दुई दिनदेखि रूसी सेनाले युक्रेनमाथि आक्रमण गरिरहेको छ। राजधानी किइभ लगायत आसपासका क्षेत्रमा रूसी सेनाले हवाई तथा स्थल आक्रमण जारी राखेको छ।
नेपालले पनि आक्रमणको विरोध गरेको छ। परराष्ट्र मन्त्रालयले बिहीबार नै विज्ञप्ति जारी युक्रेनमाथिको आक्रमण रोक्नुपर्नेमा जोड दिएको छ।