गठबन्धन बचाउन अन्तिम कोशिश गर्ने माओवादी निर्णय
नेकपा (माओवादी केन्द्र) ले सत्तारूढ पाँच दलीय गठबन्धन बचाउन अन्तिम कोशिश गर्ने निर्णय गरेको छ।
माओवादी अध्यक्ष पुष्पकमल दाहाल निवास खुमलटारमा शुक्रबार बिहान बसेको केन्द्रीय कार्यालयको विस्तारित बैठकले गठबन्धन जोगाउने अन्तिम प्रयास गर्ने निर्णय गरेको हो। अमेरिकी सहायता परियोजना एमसीसी सम्झौतालाई लिएर गठबन्धनभित्र विवाद उत्पन्न भएको छ।
यस विषयमा छलफल गर्न बसेको बैठकले गठबन्धन जोगाउनेमा जोड दिएको अध्यक्ष दाहालकी स्वकीय सचिव गंगा दाहालले जनाएकी छन्। बैठकका निर्णयबारे सामाजिक सञ्जाल मार्फत जानकारी दिंदै दाहालले भनेकी छन्, “गठबन्धन बचाउन अन्तिम कोशिश गर्ने समझदारी भयो।”
माओवादी केन्द्रीय कार्यालयको विस्तारित बैठकले एमसीसीका विषयमा भने पूर्ववत् धारणा कायमै रहेको जनाएको छ। एमसीसी सम्झौता संशोधन नगरी पारित गर्न नहुने माओवादीले यसअघि नै निर्णय गरेको थियो।
एमसीसीका विषयमा माओवादीको पूर्ववत् सैद्धान्तिक धारणा यथावत् रहेको स्वकीय सचिव दाहालले जनाएकी छन्। अहिलेकै अवस्थामा एमसीसी सम्झौताको विपक्षमा मतदान गर्ने यसअघि नै निर्णय गरेको थियो।
सत्तारूढ गठबन्धनमा रहेका नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा) एमसीसी सम्झौता पारित गर्ने पक्षमा छन् भने माओवादी, नेकपा (एकीकृत समाजवादी) र राष्ट्रिय जनमोर्चा विपक्षमा छन्।
सत्तारूढ दलले एमसीसी सम्झौता पारित गर्न सहयोग नगर्ने अडान लिएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) सँग संवाद शुरू गरेका छन्। उनले बिहीबार एमाले अध्यक्ष केपी शर्मा ओलीसँग दुई पटक भेटवार्ता गरेका छन्।
त्यस्तै, कांग्रेस नेताहरूले पनि एमसीसी सम्झौता पारित गर्न सहयोग नगरे सत्ता गठबन्धनको औचित्य नरहने बताउँदै आएका छन्। उनीहरूले सरकार वा सडक रोज्नुपर्ने तर्क गरिरहेका छन्।