एमसीसी पारित नगर्दा नेपाल विश्वसामु अपमानित हुन्छः तमलोपा
तराई मधेश लोकतान्त्रिक पार्टी (तमलोपा) का नेता वृषेशचन्द्र लालले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) संसद्बाट पारित गरेर जानुको विकल्प नभएको बताएका छन्।
राष्ट्रिय सभाका पूर्व सदस्य लाल एमसीसी विशुद्ध विकास अनुदान भएकाले यसलाई स्वीकार गर्नुपर्ने बताउँछन्।
“एमसीसीलाई अहिलेको अवस्थासम्म ल्याउन मन्त्रिपरिषद्का तत्कालीन अध्यक्ष खिलराज रेग्मीदेखि सबै पूर्व प्रधानमन्त्रीहरूले कुनै न कुनै भूमिका खेल्नुभएको छ,” नेता लालले हिमालखबरसँग भने, “दश वर्ष पहिले नेपाल आफैंले रुचि देखाएर पाउन लागेको अनुदानको यति वेला विरोध गर्नु भनेको नेपाललाई दुनियाँसामु अपमानित गर्नु हो।”
एमसीसी सम्झौता संसद्बाट सर्वसम्मत पारित गर्नुपर्नेमा लालको जोड छ। सम्झौताबाट पछि हट्दा नेपाल विश्व मानचित्रमा अविश्वसनीय देशमा दर्ज हुने उनको विश्लेषण छ।
नेपालले ५० करोड डलर अनुदान पाउने एमसीसी सम्झौता ८ फागुनमा प्रतिनिधि सभामा टेबल भएको छ। यो सम्झौता ३० असार २०७६ मा संसद्मा दर्ता भएको थियो।