एमसीसीबारे अब एमालेले जवाफ दिनुपर्छ: सरकारका प्रवक्ता कार्की
अमेरिकी सहायता परियोजना एमसीसी सम्झौताका विषयमा अब संसद्मा छलफल हुने सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चार प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताएका छन्।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारूढ गठबन्धनको बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै प्रवक्ता कार्कीले भने अब संसद्बाटै निर्णय हुने बताए। “एमसीसी सम्झौतालाई संसद्मा टेबल गर्ने सहमति भएको छ,” उनले भने, “एमसीसीबारे सडकमा होइन, संसद्मा छलफल हुन्छ।”
नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले दर्ता गरेको प्रस्तावलाई अहिलेको सरकारले संसद्मा लैजान लागेको बताए। “एमसीसी सम्झौतालाई केपी ओली शर्मा नेतृत्वको सरकारले संसद्मा दर्ता गराएको हो,” प्रवक्ता कार्कीले भने, “अघिल्लो सरकारको अविछिन्न उत्तराधिकारीका रूपले हामी यसलाई आज टेबल गराउँछौं।”
अब यस विषयमा एमालेले पनि स्पष्ट जवाफ दिनुपर्ने उनको भनाइ थियो। “एमसीसी सम्झौताका विषयमा अब एमालेले जवाफ दिनुपर्छ,” मन्त्री कार्कीले भने।
सत्तारूढ गठबन्धनले एमसीसी सम्झौतालाई संसद्मा लग्ने सहमति गरेको छ भने यसमा राष्ट्रिय जनमोर्चाले विरोध जनाएको छ।
यस विषयमा एमालेले भने कुनै निर्णय गर्न सकेको छैन। सत्तारूढ गठबन्धनले निर्णय गरेपछि मात्रै यसमा विषयमा एमालेको धारणा आउने अध्यक्ष ओलीले बताउँदै आएका छन्। एमाले संसदीय दलको बैठकले एमसीसी सम्झौताको विषयमा निर्णय गर्ने जिम्मा नेतृत्वलाई दिएको छ।