एमसीसी संसद्मा टेबल गर्न जनमोर्चा असहमत
अमेरिकी सहायता परियोजना एमसीसी सम्झौतालाई संसद्मा टेबल गर्ने विषयमा राष्ट्रिय जनमोर्चाले असहमति जनाएको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान बसेको सत्तारूढ गठबन्धनको बैठकले एमसीसी सम्झौतालाई संसद्मा टेबल गर्ने सहमति गरेको थियो। त्यसमा जनमोर्चाले सहमति जनाएको हो।
जनमोर्चा उपाध्यक्ष एवं प्रवक्ता दुर्गा पौडेलले प्रेस विज्ञप्ति जारी गरी एमसीसी संसद्मा टेबल गर्ने विषयमा विरोध जनाएकी छन्। “हाम्रो पार्टीको एमसीसीलाई सम्पूर्ण रूपले अस्वीकार गर्नुपर्छ भन्ने पहिलेदेखि नै दृढ मत रहँदै आएको छ र अहिले पनि हाम्रो त्यो मत कायमै छ,” पौडेलले भनेकी छन्, “त्यसका साथै एमसीसीबाट देशमा दीर्घकालीन दुष्परिणामहरू हुने भएकाले त्यसलाई संसद्मा विचारार्थ टेबल पनि गर्नु हुँदैन भन्ने हाम्रो स्पष्ट मत रहेको छ।”
राष्ट्रिय जनमोर्चाको प्रेस विज्ञप्ति:
कतिपय पत्रपत्रिकाहरूमा एमसीसी सम्बन्धी प्रस्ताव संसद्मा टेबल गर्न गठबन्धनमा सहमति भएको समाचारप्रति राष्ट्रिय जनमोर्चाको ध्यानाकर्षित भएको छ। हाम्रो पार्टीको एमसीसीलाई सम्पूर्ण रूपले अस्वीकार गर्नुपर्छ भन्ने पहिलेदेखि नै दृढ मत रहँदै आएको छ र अहिले पनि हाम्रो त्यो मत कायमै छ।
त्यसका साथै एमसीसीबाट देशमा दीर्घकालीन दुष्परिणामहरू हुने भएकाले त्यसलाई संसद्मा विचारार्थ टेबल पनि गर्नु हुँदैन भन्ने हाम्रो स्पष्ट मत रहेको छ। त्यो अवस्थामा त्यसलाई संसद्मा टेबल गर्न गठबन्धनमा सहमति भएको छ भन्ने समाचार सत्य नभएको कुरा हामीले स्पष्ट गर्न चाहन्छौं।
सञ्चार माध्यमहरूद्वारा पाँच दलीय गठबन्धनका कतिपय पक्षहरू त्यसलाई संसद्मा टेबल गर्न सहमत भएका समाचारहरू बाहिर आएका छन्। कतिपय पक्षहरू त्यसका लागि सहमत भएको सम्भावनालाई अस्वीकार गर्न सकिन्न। तर, जहाँसम्म हाम्रो पार्टीको प्रश्न छ, हामी त्यसका लागि सहमत नभएको कुरा सर्वविदित नै छ। हाम्रो पार्टी पनि पाँच दलीय गठबन्धको एउटा घटक हो। त्यो अवस्थामा हाम्रो पार्टी सहमत नहुँदै गठबन्धनमा त्यसका लागि सहमति भएको भन्न मिल्दैन।
गठबन्धनका गत कतिपय बैठकहरूमा हाम्रो पार्टीलाई आमन्त्रित गर्ने गरिएको छैन। शायद हाम्रो पार्टी एमसीसीलाई पारित गर्ने कुराको विरुद्ध भएकाले हाम्रो पार्टीलाई बैठकमा बोलाउँदा सर्वसम्मति हुन नसक्ने भएकोले मात्र होइन, त्यसलाई टेबल गर्ने कुराको समेत विरुद्ध भएकोले हाम्रो पार्टीलाई गठबन्धनका बैठकहरूबाट अलग राखिएको हुन सक्दछ। जे होस्, एमसीसी वा त्यसलाई संसद्मा टेबल गर्ने सोचाइका विरुद्ध आफ्नो दृष्टिकोण स्पष्ट गर्नको लागि यो वक्तव्य जारी गरिएको छ।
प्रतिगमनका विरुद्धको संघर्षको आवश्यकता महसूस गरेर नै पाँच दलीय गठबन्धन बनाइएको थियो। अहिले एमसीसीको प्रश्नमा गठबन्धनमा तीव्र मतभेद देखापरेको छ। तर, त्यो मतभेदका कारणले गठबन्धन टुट्न हुँदैन भन्ने हाम्रो मत रहँदै आएको छ। एमसीसीबारे मतभेद भएता पनि अन्य पक्षहरूको बीचमा मतभेदहरूका बीचमा सम्झौता गर्ने वा कुनै मध्यमार्गी बाटो निकाल्ने प्रयत्न भइरहेको छ। तर, हाम्रो पार्टी एमसीसीबारे त्यस प्रकारको कुनै सम्झौता वा मध्यमार्गी बाटोको पक्षमा छैन।
त्यसैले हुन सक्दछ, हाम्रो पार्टीलाई पाँच दलीय गठबन्धनबाट योजनाबद्ध प्रकारले नै अलग गर्ने प्रयत्न भइरहेको छ। तर, जुनसुकै कारणले भए पनि गठबन्धन टुटेमा त्यसले देशलाई प्रतिगमन र अधिनायकवाद वा फासिस्ट शासनतिर लैजानेछ भन्ने हाम्रो पहिलेदेखिको मत रहँदै आएको थियो र अहिले पनि छ। कुनै पनि कारणले गठबन्धनलाई तोड्ने कुरा अदूरदर्शितापूर्ण हुनेछ र त्यसका गम्भीर र दूरगामी दुष्परिणामहरू हुनेछन्।