एमसीसी अनुदान अमेरिकी जनताको उपहार हो, लिन वा नलिन नेपाल स्वतन्त्र छः अमेरिका
अमेरिकाले आफ्नो सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) स्विकार गर्न वा नगर्न नेपाल स्वतन्त्र रहेको जनाएको छ।
काठमाडौंस्थित अमेरिकी दुतावासले शनिबार एक विज्ञप्तीमाफर्त एमसीसीबारे आफ्नो धारणा सार्वजनिक गरेको हो।
“५० करोड डलर बराबरको यो एमसीसी अनुदान अमेरिकी जनताका तर्फबाट उपहार हो र हाम्रा मुलुकहरू बीचको एउटा साझेदारी हो जसले नेपालमा रोजगारी र पूर्वाधार ल्याउनेछ र नेपालीहरूको जीवनमा सुधार गर्नेछ” विज्ञप्तीमा भनिएको छ, “नेपाली नेताहरूले एमसीसीको अनुमोदन गर्छन् या गर्दैनन् भन्ने निर्णय नेपालले गर्ने हो, एउटा सार्वभौम लोकतान्त्रिक मुलुकका रूपमा र यो केवल नेपालको निर्णय हो।”
एमसीसीका लागि नेपाल सरकारले नै आग्रह गरेको दुतावासले उल्लेख गरेको छ। एमसीसीले पारदर्शी रूपमा गरिबी न्यूनीकरण गर्ने तथा नेपालको अर्थतन्त्रमा वृद्धि गर्ने किसिमले तयार पारिएको उसको दाबी छ।
नेपाल र अमेरिकाबीचको साढे सात दशक लामो सम्बन्धका बीचमा उसले नेपाललाई विकास सहायता, विपद् प्रतिकार्य तथा पूर्वतयारी सहयोग, शिक्षा र स्वास्थ्य लगायतमा सहयोग गरेको विज्ञप्तीमा उल्लेख छ।
सत्तारुढ गठबन्धनका दलहरू नै एमसीसीबारे विभाजित भइरहेका वेला अमेरिकाले आफ्नो धारणा सार्वजनिक गरेको हो। २०७४ मा भएको सम्झौता अनुसार पाउने अनुदान नेपालले विद्युत प्रसारण लाइन बनाउन र सडक सुधारमा खर्च गर्ने भनिएको छ।