एनआरएनए अध्यक्षमा उम्मेदवारी दिन १० लाख दस्तुर, यस्तो छ चुनावी कार्यतालिका
गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्को ७ र ८ चैतमा हुने निर्वाचनको कार्यतालिका सार्वजनिक गरिएको छ।
कार्यतालिका अनुसार, १७ देखि २२ फेब्रुअरीसम्म प्रारम्भिक महाधिवेशन प्रतिनिधिको नामावली प्रकाशन गरिनेछ। २३ फेब्रुअरीमा मतदाता नामावली प्रकाशन, २४ देखि २७ फेब्रुअरीसम्म मतदाता नामावलीमाथि दाबी विरोध गर्ने समय दिइएको छ। त्यस्तै, २ मार्चमा दाबी विरोधमाथि निर्णय, ३ मार्चमा अन्तिम नामावली प्रकाशन हुने निर्वाचन समितिले जनाएको छ।
यससँगै ४ र ५ मार्चमा उम्मेदवारको मनोनयनपत्र दर्ता, ६ मार्चमा उम्मेदवारको पहिलो नामावली प्रकाशन, ६ देखि ७ मार्चसम्म उम्मेदवारी विरुद्ध दाबी विरोध, ८ मार्चमा उम्मेदवारको मनोनयपत्रको जाँच र उजुरीमाथि निर्णय र ९ मार्चमा उम्मेदवारको दोस्रो नामावली प्रकाशन हुनेछ।
त्यस्तै, ११ मार्चमा उम्मेदवारले मनोनयन फिर्ता, १२ मार्चमा उम्मेदवारको अन्तिम नामावली प्रकाशन र २१ मार्च बिहान १० बजेदेखि २२ मार्च बिहान ९ः५९ बजेसम्म मतदान हुने निर्वाचन समितिले जनाएको छ। मतदान समाप्त भए लगत्तै मतगणना गर्ने प्रमुख निर्वाचन अधिकृत भीमसेन बञ्जराले जानकारी दिए।
सङ्घको अध्यक्षका लागि मनोनयनपत्र दर्ता दस्तुर रु.१० लाख तोकिएको छ। निर्वाचित पदाधिकारी तथा सदस्यले मनोनयन दस्तुर शपथ ग्रहण अगाडि बुझाउनुपर्नेछ।
एक अध्यक्ष, चार उपाध्यक्ष, एक महिला उपाध्यक्ष, एक युवा उपाध्यक्ष, एक महासचिव, एक सचिव, तीन महिला सचिव, एक कोषाध्यक्ष, एक सहकोषाध्यक्ष र एक महिला सहकोषाध्यक्ष गरी विभिन्न ५३ पदका लागि निर्वाचन हुनेछ।
अन्तर्राष्ट्रिय समन्वय परिषद्मा एक महिला संयोजक, एक युवा संयोजक, ६ क्षेत्रीय संयोजक, ६ क्षेत्रीय उपसंयोजक, ६ क्षेत्रीय महिला संयोजक, ६ क्षेत्रीय महिला उपसंयोजक र ६ क्षेत्रीय युवा उपसंयोजकका लागि निर्वाचन हुनेछ। (रासस)