‘राजनीतिक नेतृत्व सक्षम र जिम्मेवार नभएसम्म कर्मचारीतन्त्र सुध्रिन्न’
राजनीतिक नेतृत्व सक्षम र जिम्मेवार नभएसम्म देशको प्रशासनिक व्यवस्था प्रभावकारी नहुने एक कार्यक्रमका वक्ताले बताएका छन्।
ललितपुरमा आइतबार हिमालमिडियाले आयोजना गरेको मासिक हिमाल संवादको सातौं श्रृङ्खलाका वक्ताहरूले राजनीतिक नेतृत्व जिम्मेवार बन्नुपर्नेमा जोड दिए। “जबसम्म राजनीतिक नेतृत्व जिम्मेवार हुँदैन, तबसम्म सार्वजनिक प्रशासन प्रभावकारी हुन सक्दैन,” त्रिवि मानवशास्त्र विभाग प्रमुख डम्बर चेम्जोङले भने, “सेवा प्रदायक संस्थाका रूपमा रहेको कर्मचारीतन्त्र सेवा दिन सक्षम देखिंदैन।”
कर्मचारी छनोट गर्न तीन घण्टाको लिखित परीक्षामा निश्चित विषयको जानकारीको परीक्षणलाई परिमार्जन गरी सेवा समूहसँग तादात्म्य हुने विशिष्टीकृत परीक्षण विधिको विकास गर्नुपर्ने आवश्यकता रहेको उनको भनाइ थियो। चेम्जोङले राजनीतिक रूपान्तरण भइसकेपछिको अबको रूपान्तरण सामाजिक पाटोमा केन्द्रित हुनुपर्ने औंल्याउँदै कर्मचारीको इमानदारी र क्षमताविना उद्देश्य पूरा नहुने बताए।
कर्मचारी संयन्त्रमा गलत मनोवृत्ति हावी भएकाले समग्र प्रशासन संयन्त्रलाई परिणाममुखी र प्रभावकारी बनाउन संरचनागत परिवर्तन आवश्यक भएको अर्का वक्ता राष्ट्रिय सभाकी सांसद विमला राई पौड्यालले बताइन्। “अधिकांश कर्मचारी आफ्नो कर्तव्य पालनामा अक्षम छन् भने सेवाग्राहीले मलाई मान्नुपर्छ भन्ने ‘साहेब प्रवृत्ति’ पनि उनीहरूमा हाबी छ,” सांसद पौड्यालले भनिन्, “जनताले तिर्ने करबाट पालिने कर्मचारीमा जनताको सेवक हुँ भन्ने भावना नै छैन। जहिल्यै आफ्नो वृत्तिविकासको स्वार्थलाई मात्र उठाइरहने प्रवृत्तिले जरा गाडेको छ।”
कर्मचारीलाई कहींकतैबाट कुनै खालको डर नभएकाले पनि कार्यक्षमता सुधार हुन नसकेको उनको भनाइ थियो। “कर्मचारीलाई राम्रो कामको आधारमा प्रोत्साहन र गलत काम बापत सजायको व्यवस्था नभएकाले पनि सेवा प्रवाह प्रभावकारी नभएको हो,” सांसद पौड्यालले भनिन्।
विगतमा डर र त्रासमा काम हुने गरेकोमा अहिले दलगत आबद्धताले कर्मचारी फुक्काफल हुँदा प्रदर्शन क्षमता कमजोर भएको अर्का वक्ता पूर्व सचिव गोपीनाथ मैनालीले बताए। “कर्मचारीहरू आस्थाका आधारमा विभाजित हुँदा काम गर्ने वातावरण बिग्रेर गयो,” मैनालीले भने, “कर्मचारीतन्त्रलाई बिगार्ने काम बिचौलियाबाट हुने गरेको छ र यो बिचौलियाको भूमिकामा राजनीतिक दलकै कार्यकर्ता छन्।”
कर्मचारीले आफ्नो कर्तव्य के हो भन्ने बुझ्नुपर्ने र प्रशासनिक संरचनाले पनि कर्मचारीलाई कर्तव्यप्रति बफादार र जिम्मेवार बनाउने संरचना र संयन्त्र विकास गर्नुपर्ने मैनालीको भनाइ थियो। पछिल्लो समय मेधावी व्यक्ति सरकारी सेवामा आउने वातावरण नभएको बताउँदै मैनालीले भने, “राजनीतिक नेतृत्व तहले कस्तो कर्मचारी चाहिएको हो र उसबाट कस्तो काम लिन चाहेको हो, त्यसमा स्पष्ट हुनुपर्छ।”
एउटा मन्त्री र सचिव मात्र इमानदार हुने हो भने पनि समग्र संरचनामा त्यसको प्रभाव विस्तार हुँदै गएर राम्रो प्रतिफल देखिने मैनालीको भनाइ थियो। “मन्त्रीहरू अधिकृतको सरुवाको विषयमा अल्झेर नीतिगत विषय र राष्ट्रिय मुद्दामा चुकेका छन् भने राजनीतिक तहको नीतिगत तहमा सचिव तहका कर्मचारी सक्रिय भएको अवस्था छ,” मैनालीले भने, “अर्कातिर विज्ञको सुझावलाई पन्छाएर दलगत स्वार्थमा आसेपासेलाई हेरेर निर्णय गर्ने प्रवृत्ति हावी हुँदै छ।”
हिमालमिडियाले हरेक महीनाको पहिलो दिन संवाद आयोजना गर्दै आएको छ। आइतबार कर्मचारीतन्त्रका विषयमा संवाद भएको थियो।