चुनाव बिथोल्ने प्रपञ्च भइरहेका छन् : दाहाल
नेकपा (माओवादी केन्द्र) का अध्यक्षपुष्पकमल दाहालले निर्वाचन बिथोल्न अनेक प्रपञ्च भइरहेको बताएका छन्।
आइतबार माओवादीले पार्टी केन्द्रीय कार्यालयमा आयोजित ‘जनयुद्ध दिवस’ कार्यक्रमलाई सम्बोधन गर्दै दाहालले प्रतिक्रियावादी चुनाव बिथोल्न सक्रिय रहेको बताए।
“निर्वाचन प्रक्रियालाई बिथोल्नका लागि अनेक खालका प्रपञ्च भइरहेका छन्,” दाहालले भने। सरकारले आगामी ३० वैशाखमा स्थानीय चुनावको घोषणा गरेको छ।
अध्यक्ष दाहालले गठबन्धन टुटाउन विभिन्न शक्ति सक्रिय भएको जिकिर गरे। “देशभित्र र बाहिरका विभिन्न खालका प्रतिक्रियावादी शक्तिहरू सक्रिय नै छन्,” उनले भने, “गठबन्धनलाई टुटाउनका निम्ति, यो सरकारलाई गिराउनका निम्ति, निर्वाचन प्रक्रियालाई बिथोल्नका निम्ति अनेक खालका प्रपञ्चहरू भइरहेका छन्।”
उनले अब सबै माओवादी तथा क्रान्तिकारी कम्युनिष्टहरू एकजुट हुनुपर्ने बताए। “क्रान्तिकारी साथीहरूलाई एकताबद्ध हुन अपील गर्न चाहन्छु,” दाहालले भने, “सबैले आत्मसमीक्षा गर्न तयार होऔं, क्रान्तिकारी कम्युनिष्ट एकताबद्ध हुन जरुरी छ।”
उनले विदेशी सम्झौताका लागि गठबन्धन नबनाएको बताए। “हामीले कुनै देशविशेषसँग गरेको सहमति, सम्झौता, परियोजना, आर्थिक सहयोग या लेनदेनको आधारमा गठबन्धन बनाएको होइन,” दाहालले भने।
आफूले प्रतिनिधि सभा स्थगन गर्न सभामुखलाई केही नभनेको बताए। कोभिड-१९ का कारण प्रधानमन्त्री शेरबहादुर देउवाले नै प्रतिनिधि सभाको बैठक १० दिन सार्न प्रस्ताव गरेको उनले बताए।