प्रतिनिधि सभाको बैठक सार्ने दाहाल र नेपालको प्रस्ताव
प्रधानमन्त्री शेरबहादुर देउवासँगको छलफलमा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले प्रतिनिधि सभाको बैठक सार्न प्रस्ताव गरेका छन्।
प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार भएको छलफलमा अध्यक्ष दाहाल र नेपालले प्रतिनिधि सभाको बैठक सार्न प्रस्ताव गरेका हुन्। २ फागुनमा बोलाएको बैठक ४ फागुनमा सार्न प्रस्ताव गरेको अध्यक्ष दाहालकी स्वकीय सचिव गंगा दाहालले जानकारी दिएकी छन्।
यसअघि २५ माघमा बोलाएको प्रतिनिधि सभाको बैठक सभामुख अग्निप्रसाद सापकोटाले २ फागुनका लागि सारेका छन्। अहिलेसम्म प्रतिनिधि सभाको बैठक पाँच पटक सारिसकिएको छ।
अमेरिकी सहायता परियोजना एमसीसी सम्झौतालाई संसद् पेश गर्न दबाब बढेपछि सभामुख सापकोटाले बैठक सार्दै आएको विपक्षी दलको आरोप छ। सत्तारूढ गठबन्धनका कांग्रेस र जनता समाजवादी (जसपा) तथा प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) ले एमसीसी सम्झौता संसद् पेश गर्नुपर्नेमा जोड दिंदै आएका छन्।
सत्तारूढ गठबन्धनकै माओवादी, एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाको यसको विपक्षमा उभिएका छन्। जसले गर्दा प्रतिनिधि सभाको बैठक सर्दै आएको छ।