एमसीसीबारे देउवा, दाहाल र नेपालबीच बालुवाटारमा छलफल
सत्तारूढ तीन दलका शीर्ष नेता प्रधानमन्त्री निवास बालुवाटारमा छलफलमा जुटेका छन्।
प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल छलफलमा जुटेका हुन्। उनीहरूबीच प्रधानमन्त्री निवास बालुवाटारमा छलफल भइरहेको प्रधानमन्त्री देउवाका प्रेस प्रमुख गोविन्द परियारले जानकारी दिएका छन्।
तीनै शीर्ष नेताबीच अमेरिकी सहायता परियोजना एमसीसी सम्झौता संसद्मा लग्ने विषयमा छलफल भइरहेको छ। सत्तारूढ गठबन्धनका कांग्रेस र जनता समाजवादी पार्टी (जसपा) एमसीसी सम्झौताको पक्षमा छन्।
त्यस्तै, सत्तारूढ गठबन्धनकै माओवादी, एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चा एमसीसी सम्झौताको विपक्षमा उभिएका छन्। प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) भने एमसीसी सम्झौताको पक्षमै रहेको छ।
यसलाई संसद्मा पेश गर्ने विषयमा विवाद चलिरहेको छ। कांग्रेस, एमाले र जसपा नेताहरूले संसद्बाटै टुङ्गो लगाउनुपर्नेमा जोड दिंदै आएका छन्। तर, माओवादी, एकीकृत समाजवादी र जनमोर्चा भने संसद्मा पेश गर्न नहुने अडानमा छन्।
यस विषयमा सहमति गर्न प्रधानमन्त्री देउवा, माओवादी अध्यक्ष दाहाल र एकीकृत समाजवादीका अध्यक्ष नेपाल छलफलमा जुटेका हुन्। यससँगै स्थानीय चुनाव र समसामयिक राजनीतिक विषयमा पनि छलफल हुने जनाएको छ।