सन्दीपको नेतृत्वमा आज नेपालको पहिलो खेल
आईसीसी टी-२० विश्वकप ग्लोबल छनोट खेल्नुअघि चार देश सम्मिलित टी-२० सिरिजको पहिलो खेलमा नेपालले आज ओमानसँग प्रतिस्पर्धा गर्दै छ।
ओमानको अल अमेरेट क्रिकेट मैदानमा हुने नेपाल र ओमानबीचको खेल अपराह्न ३ः४५ बजेदेखि शुरू हुनेछ। नेपालले विजय हासिल गर्ने उद्देश्यका साथ ओमानको सामना गर्नेछ।
नेपालले ओमानसँग टी-२० मा पछिल्लो पटक सन् २०१९ मा खेलेको थियो। ओमानले नेपाललाई ६ विकेटले पराजित गरेको थियो।
आजको खेलमा पहिलो पटक सन्दीप लामिछानेले नेपाली टोलीको नेतृत्व गर्नेछन्। नेपाल क्रिकेट संघ (क्यान) ले ज्ञानेन्द्र मल्ल हटाएर लामिछानेलाई कप्तान भएपछि नेपालले पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न लागेको हो।
नेपालले दोस्रो खेलमा संयुक्त अरब इमिरेट्स (यूएई)को सामना गर्नेछ। यस्तै, नेपालले सोमबार आयरल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ।
आईसीसी पुरुष टी-२० विश्वकप छनोट अन्तर्गतको ग्लोबल छनोट खेल्नुअघि नेपालले चार देशीय सिरिज खेल्न लागेको हो। ग्लोबल छनोटमा आयोजक ओमान, फिलिपिन्स, क्यानाडा, यूएई, बहराइन, आयरल्यान्ड र जर्मनी छन्।
आठ टोलीलाई पनि दुई समूहमा विभाजन गरिएको छ। समूह ‘ए’ मा नेपाल, क्यानाडा, फिलिपिन्स र ओमान छन् भने समूह ‘बी’ मा यूएई, बहराइन, आयरल्यान्ड र जर्मनी छन्।