देशबाट पुँजी पलायन भइरहेको छ, क्रिप्टोकरेन्सी अर्थतन्त्रका लागि चुनौती : अर्थ मन्त्री शर्मा
अर्थ मन्त्री जनार्दन शर्माले देशबाट पुँजी पलायन भइरहेको बताएका छन्।
आर्थिक वर्ष २०७८/७९ को बजेटको अर्धवार्षिक समीक्षा सार्वजनिक गर्दै अर्थ मन्त्री शर्माले क्रिप्टोकरेन्सी, हाइपर फन्ड, अनलाइन गेम लगायतका नाममा विदेशी मुद्राको पलायन भइरहेको बताएका हुन्। उनले यो अर्थतन्त्रका लागि चुनौतीपूर्ण रहेको बताउँदै भने, “जे घटना घटिरहेको छ, त्यो लुकाएर हुँदैन। बरु, नियन्त्रणका लागि सबै पक्षको सहयोग आवश्यक छ।”
उनले क्रिप्टोकरेन्सी, हाइपर फन्ड लगायतका क्षेत्रमा लगानी निरुत्साहित गर्न विभिन्न कार्यदल बनाएर सरकारले काम गरिरहेको पनि बताए। पछिल्ला महीनामा देशको विदेशी विनिमयको सञ्चिती लगातार खस्किएपछि सरकारी अधिकारी झस्किएका छन्।
नेपाल राष्ट्र ब्यांकले बुधबार सार्वजनिक गरेको तथ्यांकअनुसार, पुससम्म नेपालसँग भएको विदेशी विनिमयको सञ्चितीले ६.६ महीनाको मात्रै वस्तु र सेवा आयात गर्न पुग्छ। बितेको एक वर्षमा विदेशी विनिमयको सञ्चिती करीब २९ प्रतिशतले घटिसकेको छ। क्रिप्टोकरेन्सी, हाइपर फन्ड आदिका लागि पुँजी पलायन भइरहेको सरकारी अधिकारीहरूको आशंका छ।