मधेशवादी दल विदेशीले बनाएको हो: दाहाल
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले मधेशवादी दल विदेशीले गठन गरेको आरोप लगाएका छन्।
खुमलटारमा बिहीबार आयोजित कार्यक्रममा अध्यक्ष दाहाल मधेशवादी दलहरूप्रति आक्रामक रुपमा प्रस्तुत भएका हुन्।
सम्मरीमाइ गाउँपालिकाका अध्यक्ष जितेन्द्रनाथ शुक्लालाई माओवादीमा प्रवेश गराउँदै पूर्व प्रधानमन्त्री समेत रहेका दाहालले भने, “मधेशका लागि मधेशी पार्टी नै चाहिन्छ भनेर विदेशीले बनाइ दिए त्यस्ता पार्टी। नेपाली र मधेशी जनताले बनाएका पार्टी पनि होइनन् ती अर्कैको डिजाइनमा बनेका हुन्।”
दाहालले विदेशीले गठन गरेको आरोप लगाएको एउटा मधेशवादी दल जनता समाजवादी पार्टी (जसपा) संयुक्त सरकारमा सहभागी छ भने लोकतान्त्रिक समाजवादी पार्टी प्रतिपक्षमा छ।
त्यतिवेला माओवादीले चुनाव जित्ला भन्ने डरले तराई मधेशका केही ठाउँमा भयानक हत्याकाण्ड मच्याएको दाहालको भनाइ थियो। २०६३ सालमा उपेन्द्र यादव नेतृत्वको मधेशी जनअधिकार फोरमले रौतहटको गौर माओवादी समर्थित २८ जनाको हत्या गरेको थियो।