एमसीसीबारे देउवा, दाहाल र नेपालबीच छलफल, जुटेन सहमति
अमेरिकी सहायता परियोजना एमसीसीबारे प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालबीच छलफल भएको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार एमसीसीबारे छलफल भएको हो। तर, तीनै नेताबीच सहमती बन्ने सकेको छैन।
प्रधानमन्त्री देउवाले एमसीसी सम्झौतालाई संसद्मा पेश गर्नुपर्ने बताएका थिए। उनले पारित गर्ने वा नगर्ने संसद्को अधिकार भएकाले त्यहिबाट टुंगो लगाउनुपर्नेमा जोड दिएका थिए।
माओवादी अध्यक्ष दाहाल र एकीकृत समाजवादीका अध्यक्ष नेपाल भने त्यसको विपक्षमा उभिए। उनीहरूले अहिलेको अवस्थामा संसद्मा पेश गर्नु नहुने तर्क गरेका थिए। उनीहरूबीच छलफल भए पनि के गर्ने भन्ने विषयमा सहमति बन्न नसकेको बालुवाटार स्रोतले जनाएको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा उनीहरूबीच समसामयिक राजनीतिक विषयमा छलफल भएको प्रधानमन्त्रीका प्रेस प्रमुख गोविन्द परियारले जानकारी दिए।
यससँगै उनीहरूबीच स्थानीय तहको चुनावका विषयमा पनि छलफल भएको जनाइएको छ। संघीय सरकारले आगामी ३० वैशाखमा स्थानीय तहको चुनाव गर्ने निर्णय गरेको छ।