कमल थापा भन्छन्- हिन्दू राष्ट्र, सुशासन र समृद्धिका लागि नयाँ पार्टी खोल्दै छौं
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्व अध्यक्ष कमल थापाले केही दिनभित्रै नयाँ पार्टी दर्ता गर्न लागेका छन्।
राप्रपा छोडेको घोषणा गरेका थापाले १ फागुनमा नयाँ पार्टी दर्ता गर्ने तयारी गरेका छन्। नयाँ पार्टी दर्ताका लागि १ फागुनमा निर्वाचन आयोग जाने तयारी रहेको थापा निकट एक नेताले हिमालखबरलाई बताए।
राप्रपामा रहेका थापा निकट नेता तथा कार्यकर्ताले दवाव दिएपछि नयाँ पार्टी खोल्न लागेको उनको भनाइ छ। “साथीहरूले दवाव दिएपछि नयाँ पार्टी खोल्ने निश्कर्षमा पुगेको छु,” थापाले भने।
थापाले खोल्न लागेको नयाँ पार्टीले हिन्दू राष्ट्रको मुद्दालाई प्राथमिकतामा राख्ने भएको छ। “हिन्दू राष्ट्र, सुशासन र समृद्धिका लागि नयाँ पार्टी खोल्न लागेका छौं,” थापाले हिमालखबरसँग भने।
थापाले २४ माघमा आफू निकट नेता तथा कार्यकर्तासँग काठमाडौंमा छलफल गरेका थिए। त्यसको भोलिपल्ट हेटौंडा पुगेर राप्रपा छोडेको घोषणा गरेका थिए।
नयाँ पार्टीको नाम राष्ट्रिय एकता पार्टी प्रस्ताव गरिएको छ। नामका बारेमा अझै छलफल जारी रहेको जनाइएको छ।