विदेशी विनिमयको सञ्चितीमा थप चाप परेपछि चार दर्जन वस्तुको आयातमा कडाइ
उच्च आयातको कारण शोधनान्तर घाटा रेकर्डस्तरमा पुगेपछि नेपाल राष्ट्र ब्यांकले थप झण्डै चार दर्जन वस्तुको आयातमा कडाइ गरेको छ।
आयातका लागि ठूलो मात्रामा विदेशी विनिमय खर्च भएर सञ्चितीमा लगातार चाप परेपछि केन्द्रीय ब्यांकले बुधबार थप ४७ वस्तुको आयातमा कडाइ गरेको हो। ब्यांकले परिपत्र जारी गर्दै आयात गर्दा ४१ थरी वस्तुमा शतप्रतिशत र ६ प्रकारका वस्तुमा ५० प्रतिशत नगद मार्जिन राख्नुपर्ने व्यवस्था गरेको हो। अर्थात्, यी वस्तुको आयात गर्दा ब्यांकबाट ऋण लिन लिन पाइदैन्, व्यवसायी आफैंले नगद बुझाएर एलसी खोल्नुपर्ने हुन्छ।
यसअघि राष्ट्र ब्यांकले गत ५ पुसमा पनि कयौं वस्तुको आयातमा यस्तै कडाई गरेको थियो। तर, उक्त कडाईले पनि आयातमा खासै प्रभाव नपरेपछि थप वस्तुको आयातलाई रोक्न खोजिएको हो।
अत्तर, सौन्दर्य प्रशाधनका सामान, काठ र फर्निचर, जुत्ता–चप्पल, कपडा, छाता, ढुङ्गाका सजावट सामग्री, सिमेन्ट, बोतल, चाँदी, बहुमूल्य धातु, घडी, मोती, खेलौना, खेलकुदका सामग्री, माछा, दुग्धजन्य पदार्थ, मह र अण्डा, बोटबिरुवा, तरकारी र गेडागुडी, सुपारी, केरा, चिप्स, छोकडा, मरिच, मासु, मेडिकल तथा सर्जिकल इक्विपमेन्ट आदिमा कडाई गरिएको हो। चियाकफी, लुगाधुने पाउडर, साबुन, प्लास्टिकका सामाग्री, आदिको आयातलाई पनि कडाई गर्न खोजिएको छ।
यो आर्थिक वर्षको पहिलो ६ महीनामै देशले वैदेशिक व्यापारमा रु. ८ खर्ब ८० अर्ब घाटा बेहोरिसकेको छ। राष्ट्र ब्यांकले बुधबार पुससम्ममा देशमा रु. ९ खर्ब ९९ अर्ब ३४ करोड बराबरको सामान आयात भएको तथ्यांक सार्वजनिक गरेको थियो। यो गत वर्षको यही अवधिका तुलनामा ५१ प्रतिशतले धेरै हो।