यस्ता छन् माओवादी केन्द्रीय समिति बैठकका अजेन्डा
अमेरिकी सहायता परियोजना एमसीसी लगायतका विषयमा छलफल गर्न नेकपा (माओवादी केन्द्र)ले केन्द्रीय समिति बैठक बोलाएको छ।
माओवादी केन्द्रीय कार्यालयका अनुसार बिहीबार बिहान ११ बजे काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा-प्रतिष्ठानमा केन्द्रीय समिति बैठक बस्ने भएको छ। केन्द्रीय समिति बैठक दुई दिनसम्म चल्नेछ।
माओवादीले केन्द्रीय समिति बैठकका लागि मुख्य गरी तीन अजेन्डा तय गरेको छ। यसमा पहिलो एमसीसी रहेको छ। एमसीसी संसद्बाट पारित गर्ने कि नगर्ने भन्ने विषयमा केन्द्रीय समिति बैठकमा छलफल हुने भएको छ।
पछिल्लो प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी पारित गर्नुपर्ने विषयमा जोड दिँदै आएका छन्। सत्तारुढ कांग्रेससँगै जनता समाजवादी पार्टी (जसपा) यसको पक्षमा छन्।
त्यस्तै, सत्तारुढ गठबन्धनका माओवादी, नेकपा (एकीकृत समाजवादी) र राष्ट्रिय जनमोर्चा यसको विपक्षमा उभिएका छन्। प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) भने एमसीसीको पक्षमा उभिएको छ।
माओवादी अध्यक्ष पुष्पकमल दाहालले एमसीसीका विषयमा शीर्ष नेताहरूसँग छलफल गरेका थिए। माओवादी नेताहरूले केन्द्रीय समितिबाट टुंगो लगाउनु पर्ने सुझाव दिएका थिए। त्यसका आधारमा एमसीसीको विषय केन्द्रीय समिति बैठकको अजेन्डा बनेको छ।
त्यस्तै, अर्को अजेन्डामा माओवादी पदाधिकारी चयनको विषय रहेको छ। आठौं महाधिवेशनबाट अध्यक्ष र केन्द्रीय सदस्य चयन भए पनि पदाधिकारी चयन गर्न बाँकी छ। यो बैठकबाट पदाधिकारी चयन हुने जनाइएको छ। माओवादीमा एक वरिष्ठ उपाध्यक्ष, ६ उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव, तीन सचिव र एक कोषाध्यक्ष रहने व्यवस्था छ।
यससँगै तेस्रो अजेन्डामा स्थानीय तहको चुनाव रहेको छ। सरकारले आगामी ३० वैशाखमा चुनाव गर्ने घोषणा गरेको छ। स्थानीय तहको चुनावको तयारी लागि केन्द्रीय समितिमा छलफल हुने भएको हो।
यससँगै समसामयिक राजनीतिक विषयमा छलफल हुने माओवादी केन्द्रीय कार्यालयले जनाएकाे छ।