सत्यमोहन जोशी अस्वस्थ, किस्ट अस्पताल भर्ना
संस्कृतिविद् सत्यमोहन जोशी अस्वस्थ्व भएपछि ललितपुरस्थित किस्ट मेडिकल कलेज शिक्षण अस्पताल भर्ना भएका छन्।
१०२ वर्षीय जोशी छाती दुखेपछि मंगलबार दिउसो किस्ट अस्पताल पुगेका हुन्। उनलाई क्याबिनमा राखेर उपचार भइरहेको अस्पतालले जनाएको छ।
अस्पताल स्रोतका अनुसार उनको अक्सिजनको लेभल केही घटेको छ। कोभिड–१९ को आशंकामा पीसीआर गर्न स्वाब पठाइएको छ।
“अक्सिजन लेभल घटे पनि अक्सिजनको सपोर्टमा राख्नु परेको छैन,” किस्ट मेडिकल कलेजका एक चिकित्सकले भने, “उहाँ मेडिसिन विभागको चिकित्सकको निगरानीमा हुनुहुन्छ, स्वास्थ्य अवस्थालाई लिएर डराउनुपर्ने अवस्था छैन।”