एमसीसीबारे छलफल गर्न माओवादीले बोलायो केन्द्रीय समिति बैठक
अमेरिकी सहायता परियोजना एमसीसीबारे छलफल गर्न नेकपा (माओवादी केन्द्र)ले केन्द्रीय समिति बैठक बोलाएको छ।
माओवादी अध्यक्ष पुष्पकमल दाहालले २८-२९ माघमा काठमाडौंमा बस्ने केन्द्रीय समिति बैठक बोलाएका हुन्। समसामयिक राजनीतिक विषयमा छलफल गर्न केन्द्रीय समिति बैठक बोलाइएको माओवादी स्थायी समिति सदस्य गणेश साहले बताए।
केन्द्रीय समिति बैठकका लागि तीन वटा अजेन्डा तय भएका छन्। जसमा एमसीसी, स्थानीय चुनाव र पदाधिकारी चयन तथा संगठन विस्तारका विषय रहेका छन्। “समसामयिक राजनीतिक विषयमा छलफल हुन्छ,” नेता साहले हिमालखबरसँग भने, “एमसीसी, स्थानीय चुनाव र पदाधिकारी चयन गर्ने अजेन्डा छन्।”
केन्द्रीय समितिको बैठक बोलाउन अघि अध्यक्ष दाहालले माओवादी नेताहरूसँग एमसीसीबारे छलफल गरेका थिए। २३ र २४ माघमा भएको आन्तरिक छलफलमा नेताहरूले केन्द्रीय समितिबाटै एमसीसीको विषय टुंगो लगाउनुपर्नेमा जोड दिएका थिए। त्यसैका आधारमा अध्यक्ष दाहालले एमसीसीको विषय टुंगो लगाउन केन्द्रीय समिति बैठक बोलाएको जनाइएको छ।
यसअघि २३ माघमा प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष दाहालबीच भेटवार्ता भएको थियो। भेटवार्तामा एमसीसी, स्थानीय चुनाव र संसद्मा भइरहेको अवरोध खुलाउने विषयमा छलफल भएको थियो।
यससँगै प्रधानमन्त्री देउवाले एमसीसीको विषय संसद्बाट टुंगो लगाउनुपर्नेमा जोड दिएपछि माओवादी पनि आन्तरिक छलफलमा जुटेको हो। एमसीसी सम्झौता पारित गर्ने विषयमा प्रधानमन्त्री देउवा र माओवादी अध्यक्ष दाहालले एमसीसीलाई पठाएको पत्र बाहिरिएपछि दवाव बढेको छ।
अहिलेसम्म सत्तारुढ गठबन्धनका कांग्रेस र जनता समाजवादी पार्टी (जसपा) एमसीसी सम्झौता पारित गर्नुपर्ने पक्षमा छन् भने माओवादी, नेकपा (एकीकृत समाजवादी) र राष्ट्रिय जनमोर्चा विपक्षमा उभिएका छन्। त्यस्तै, प्रमुख प्रतिपक्ष नेकपा (एमाले) पनि एमसीसी सम्झौता संसद्बाट पारित गर्नुपर्ने पक्षमा उभिएको छ।
यहि विवादबीच माओवादी अध्यक्ष दाहालले केन्द्रीय समिति बैठक बोलाएका हुन्। माओवादीको आठौं महाधिवेशनपछि २७ पुसमा केन्द्रीय समिति बैठक बोलाइएको थियो। तर, त्यतिवेला अध्यक्ष दाहालसहित केहि नेताहरूमा कोरोनाभाइरसको संक्रमण देखिएपछि स्थगित गरिएको थियो।
केन्द्रीय समिति बैठक बस्न नसकेका कारण माओवादी पदाधिकारी पनि चयन भएका छैनन्। माओवादीमा एक वरिष्ठ उपाध्यक्ष, ६ उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव, तीन सचिव र एक कोषाध्यक्ष रहने व्यवस्था छ।