स्थानीय निर्वाचनबारे कुनै अलमल आवश्यक छैन: राष्ट्रपति भण्डारी
राष्ट्रपति विद्यादेवी भण्डारीले स्थानीय तहको निर्वाचन निर्धारित मितिमै हुनुपर्नेमा जोड दिएकी छन्।
राष्ट्रपति भण्डारीले प्रधानमन्त्री शेरबहादुर देउवासँगको भेटमा ५ जेठ २०७९ अगावै स्थानीय चुनाव गर्नुपर्नेमा जोड दिएको प्रधानमन्त्री निकट स्रोतले जानकारी दिएको छ।
राष्ट्रपति भण्डारीले प्रधानमन्त्रीसँगको छलफल नोटमा भनेकी छन्, “स्थानीय निर्वाचनबारे अलमल वा कुनै अन्योल आवश्यक छैन।”
२०५९ देखि २०७४ सालसम्म स्थानीय तह जनप्रतिनिधिविहीन भएर सर्वदलीय संयन्त्रले चलाउँदाको विकृति स्मरण गर्नुपर्नेमा राष्ट्रपति भण्डारीको जोड थियो।
उनले कोभिड-१९ महामारी र प्राकृतिक विपद्सँग जुध्न स्थानीय तहले खेलेको भूमिका हेर्दा पनि जनप्रतिनिधिको भूमिका आवश्यक रहेको धारणा राखेकी थिइन्।