उद्योगी विरुद्ध निराधार रूपमा भ्रष्टाचारको मुद्दा चलाइयो: सिमेन्ट उत्पादक संघ
सिमेन्ट उद्योगी विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजस्व चुहावट र भ्रष्टाचारको मुद्दा लगाएकोमा नेपाल सिमेन्ट उत्पादक संघले विरोध गरेको छ।
संघले शुक्रबार विज्ञप्ति निकालेर निराधार रूपमा उद्योग र उद्योगीलाई हतोत्साही गर्ने गरी भ्रष्टाचार जस्तो गम्भीर आरोप लगाइएको टिप्पणी गरेको छ। आयोगले बुधबार नौ सिमेन्ट उद्योग विरुद्ध राजस्व चुहावट र भ्रष्टाचार गरेको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेको थियो।
सिमेन्ट उद्योग संघले विभिन्न उद्योगले वार्षिक तोकिएको परिमाणभन्दा बढी चुनढुङ्गा उत्खनन गरे पनि जति परिमाणमा उत्खनन गरिएको हो सोही आधारमा रोयल्टी शुल्क बुझाउँदै आएको जनाएको छ। विभिन्न उद्योगले वार्षिक स्वीकृत सीमाभन्दा बढी चुनढुङ्गा उत्खनन गरेको भेटिएको थियो। तर, सीमाभन्दा बढी उत्खनन भएको चुनढुङ्गाको पनि राजस्व बुझाइसकिएको संघले जनाएको छ।
“प्रत्येक महीनामा उत्खनन गरे अनुसारको परिमाणको रोयल्टी रकम अर्को महीनाको ७ गतेभित्र नै बुझाउनुपर्ने व्यवस्था भए अनुसार उत्खनन गरेको परिमाण अनुसारको शुल्क बुझाइसकिएको छ,” विज्ञप्तिमा भनिएको छ।
संघले २०७२ को भूकम्पपछि बढेको पुनर्निर्माणको मागलाई थेग्न उत्पादन बढाउनुपर्ने आवश्यकताका कारण चुनढुङ्गा तोकिएभन्दा धेरै उत्पादन गर्नुपरेको जनाएको छ। सबैजसो उद्योगले वार्षिक उत्पादन क्षमता वृद्धिका लागि सम्बन्धित विभागमा आवेदन दिइसकेको र निर्णय प्रक्रियामा रहेको पनि संघको दाबी छ। संघले विगतमा पनि स्वीकृत परिमाणभन्दा बढी वा घटी चुनढुङ्गा उत्पादन गर्ने प्रचलन रहेको तथा बढी उत्पादन गरेको अवस्थामा खानी तथा भू-गर्भ विभागले नै प्रचलित ऐन नियम अनुसार जरिवाना गर्ने गरेको जनाएको छ।
प्रचलित ऐन नियम अनुसार लगाउन सक्ने हदैसम्मको जरिवाना रु. एक लाख तिराई उप्रान्त वार्षिक क्षमताभन्दा बढी उत्खनन गर्नेछैन भनी कबुलियत समेत गराइसकेको तथा त्यसपश्चात् बढी उत्खनन गर्ने कार्य कसैले पनि नगरेको संघको दाबी छ।
स्वीकृत परिमाणभन्दा बढी उत्पादनलाई क्षति भएको भन्न सकिने व्यवस्था नै नरहेको अवस्थामा आयोगले उद्योगीलाई दोषी ठहर गरी भष्ट्राचार मुद्दा दायर गर्नु कानूनसम्मत तथा न्यायोचित नभएको संघको भनाइ छ।
आयोगले बुधबार विशेष अदालतमा तोकिएको स्वीकृत परिणामभन्दा धेरै चुनढुङ्गा उत्खनन गर्ने सर्वोत्तम सिमेन्ट, सिद्धार्थ मिनरल्स, मारुती सिमेन्ट, अन्नपूर्ण क्वेरिज, उदयपुर मिनरल्स, युनाइटेड सिमेन्ट, सोनापुर मिनरल्स, कञ्चन क्वेरिज र डोलोमाइट चुनढुङ्गा कम्पनी तथा यसका सञ्चालक विरुद्ध पनि राजस्व चुहावट सहित भ्रष्टाचारको मुद्दा दायर गरेको थियो।
सर्वोत्तम सिमेन्टका विष्णुप्रसाद न्यौपाने विरुद्ध रु.१६ करोड ३१ लाख, सिद्धार्थ मिनरल्सका पशुपति मुरारका विरुद्ध रु.४९ करोड ४५ लाख, मारुती सिमेन्टका शरद गोयल विरुद्ध रु.२० करोड ५० लाख, अन्नपूर्ण क्वेरिजका ऋषि अग्रवाल विरुद्ध रु.११ करोड १७ लाख, उदयपुर मिनरल्सका प्रबलजंग पाण्डे विरुद्ध रु.एक करोड ७९ लाख, युनाइटेड सिमेन्टका नरेश दुगड विरुद्ध रु.नौ करोड ६९ लाख, सोनापुर मिनरल्सका निपेश तायल विरुद्ध रु.६ करोड ९८ लाख बिगो कायम गरी भ्रष्टाचारको मुद्दा दायर गरिएको थियो।