कुखुराको चल्लामा कमिशन मागेको आरोप लागेका शिक्षालय प्रमुखमाथि छानबिन
डोटीको दिपायलस्थित जोगिडाब्रेमा रहेको सेती प्राविधिक शिक्षालयका प्रमुख वीरेन्द्रबाबु यादवमाथि छानबिन शुरू भएको छ।
कुखुरा व्यवसायीसँग रकम माग गरेको अडियो सार्वजनिक भएपछि उनीमाथि प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्ले छानबिन शुरू गरेको सेती प्राविधिक शिक्षालयका शिक्षक तीर्थराज अवस्थीले जानकारी दिए।
शिक्षालय प्रमुख यादवलाई परिषद्ले जिम्मेवारीबाट हटाएको छ। छानबिन शुरू भएकाले उनलाई शिक्षालयको प्रमुखबाट हटाएको जनाइएको छ।
शिक्षालयमा अध्ययनरत विद्यार्थीलाई कुखुरापालनबारे सिकाउन शिक्षालयले पाँच सय चल्ला खरीद गरेको थियो। कुखुराका चल्ला पठाउने व्यवसायीसँग फोनमा कमिशन मागेको अडियो सार्वजनिक भएको थियो।
त्यसपछि उनीमाथि छानबिन शुरू भएको हो। शिक्षालयमा उनले पेन्टिङ, मसलन्द, भवन निर्माण, पेट्रोलियम पदार्थ, गाडी मर्मत, विद्यार्थी भर्ना, विद्यार्थी परिचयपत्र र पोशाकमा समेत आर्थिक अनियमितता गरेको आरोप लागेको छ। (रासस)