फूटबलर हरि खड्का विरुद्ध विशेष अदालतमा मुद्दा
राष्ट्रिय फूटबल टोलीका पूर्व कप्तान हरि खड्का विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दर्ता गरेको छ।
फूटबलर खड्काले झुट्टा प्रमाणपत्र बुझाएर जागिर खाएको आरोपमा अख्तियारले बुधबार विशेष अदालतमा मुद्दा दर्ता गरेको हो। खड्काको प्रमाणपत्र नक्कली रहेको भन्दै अख्तियारमा उजुरी परेको थियो।
त्यसमा अनुसन्धान गर्दा प्रमाणपत्र नक्कली पाइएको अख्तियारको दाबी छ।
मुद्दा दर्तापछि अख्तियारले जारी गरेको विज्ञप्तिमा ‘खड्काले माध्यमिक शिक्षा परिषद बाराणशी उत्तर प्रदेशबाट जारी भएको शैक्षिक योग्यता पेश गरी सोही प्रमाणपत्रको आधारमा २०५५/०७/०१ मा खुल्ला प्रतिस्पर्धाबाट प्रहरी सहायक निरीक्षक पदमा नियुक्त भइ, २०५९/०९/१४ मा प्रहरी नायब निरीक्षकमा बढुवा भएको’ उल्लेख छ।