नेविसंघ महाधिवेशनः बन्दसत्र फेरि सर्यो
नेविसंघको जारी महाधिवेशन अन्तर्गत आज हुने भनिएको बन्दसत्र फेरि सरेको छ । नेविसंघले सूचना टाँस गरी बन्द सत्र भोलि १२ बजेदेखि शुरु हुने जनाएको छ ।
२३ साउनमा तामझामका साथ नेपाली कांग्रेस पार्टी सभापति शेरबहादुर देउवाले उद्घाटन गरेको महाधिवेशनको हिजो हुनुपर्ने बन्दसत्र प्रतिनिधि चयनमा भएको विवाद मिलाउन भन्दै आज २ बजेसम्मका लागि स्थगित गरिएको थियो ।
विवाद आजसम्म पनि नमिलेपछि बन्दसत्र फेरि भोलि २६ साउन १२ बजेसम्मका लागि सारिएको हो । यसबीच नेविसंघका एक समूहले प्रदर्शनीमार्गमा विवाद समाधान गरेर मात्रै महाधिवेशन जारी गर्नुपर्ने भन्दै नारबाजी र जुलुश प्रदर्शन गरेको छ ।
त्यसक्रममा प्रहरी र उक्त समूहबीच केही बेर झडप समेत भएको थियो । अहिले जुलुश साम्य भइसकेको छ भने बन्दसत्र स्थल पनि सुनसान देखिएको छ ।
विवाद मिल्न नसक्दा महाधिवेशन नै अनिश्चित बन्न पुगेको छ ।
कपिल भट्ट, काठमाडौं